
विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक समागम— महाकुम्भ २०२५ मा बुधवार अन्तिम स्नान पर्व महाशिवरात्रिसँगै सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा ४५ दिनसम्म सञ्चालन भएको महाकुम्भ गत १३ जनवरीदेखि प्रारम्भ भएको थियो ।
यो मेलामा विश्वभरीबाट आएका ६६ करोडभन्दा बढी श्रद्धालुहरूले गंगाको संगममा डुबुल्की लगाएका थिए । मेला प्रशासनद्वारा जारी गरिएको तथ्यांकअनुसार एकै दिन बुधवार साँझ ६ बजेसम्म पौने दुई करोडभन्दा बढी श्रद्धालुहरूले गंगा र संगममा स्नान गरे भने १३ जनवरीदेखि हालसम्म स्नान गर्नेहरूको संख्या ६६ क।रोड २१ लाख पुगेको छ ।
श्रद्धालुहरूको यो संख्या चीन र भारतबाहेक अमेरिका, रूस र युरोपेली देशहरूको जनसंख्याभन्दा बढी रहेको छ । साथै, यो मक्का र भ्याटिकन सिटी जाने श्रद्धालुको संख्या भन्दा पनि धेरै हो । महाकुम्भ मेलाले सरसफाइका दृष्टिकोणले पनि निकै चर्चा पायो, जसमा सरसफाइ कर्मचारीहरूको महत्वपूर्ण भूमिका रह्यो । महाकुम्भ मेलामा सरसफाइ प्रमुख डा. आनन्द सिंहका अनुसार १५ हजार सरसफाइ कर्मचारीहरू चौबीसै घण्टा ड्युटीमा तैनाथ थिए । उनीहरूले विभिन्न पालोमा सरसफाइको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए भने मेलाका शौचालय तथा घाटहरू पूर्ण रूपमा सफा राखेका थिए । उनीहरूको कार्यलाई सबैले प्रशंसा गरे ।
राष्ट्रपति-प्रधानमन्त्रीसहित फिल्मी हस्तीहरूले लगाए डुबुल्की
महाकुम्भ मेलामा मौनी अमावस्याका दिन भागदौडको घटना भए पनि यसले श्रद्धालुहरूको आस्थामा कुनै ठूलो असर पारेन । यो घटनामा ३० जनाको मृत्यु भएको थियो । महाकुम्भ मेलामा भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विभिन्न राज्यका मुख्यमन्त्रीहरू, फिल्मी कलाकारहरु, खेलकुद, उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरूले संगममा डुबुल्की लगाएका थिए भने प्रदेश सरकारद्वारा गरिएको व्यवस्थाको सराहना गरे । यो महाकुम्भमा परम्परा र आधुनिकताको अद्भुत संगम देखियो । आर्टिफिसियल इन्टेलिजेन्सयुक्त क्यामेरा, एन्टी(ड्रोन प्रविधि तथा अन्य अत्याधुनिक उपकरणहरूको प्रयोग गरिएको थियो । मेला सुरक्षाकर्मीहरूलाई यी प्रविधिहरूको विशेष तालिम दिइएको थियो ।
विवादमा पनि रह्यो महाकुम्भ
तर, यो मेला केही विवादका कारण पनि चर्चामा रह्यो । जस्तै, अभिनेत्री ममता कुलकर्णी महामण्डलेश्वर बनिन् भन्ने समाचारपछि विवाद उत्पन्न भयो । साथै, गंगाको पानीको शुद्धताबारे राष्ट्रिय प्रदूषण नियन्त्रण बोर्ड (एनपीसीबी) द्वारा सार्वजनिक प्रतिवेदन र त्यसपछि सरकारले वैज्ञानिकहरूसँग पुष्टि गराउँदै गंगा जल शुद्ध रहेको दावी गरेको घटनाले पनि चर्चा पायो । हिन्दू धर्मअनुसार, कुम्भ वा महाकुम्भ मेलाका बेला विशेष ग्रह-नक्षत्रको संयोग हुने हुँदा गंगा र संगममा स्नान गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
परमार्थ निकेतन प्रमुख चिदानन्द सरस्वतीको भनाइ
परमार्थ निकेतन आश्रम, ऋषिकेशका प्रमुख चिदानन्द सरस्वतीले भनेका छन्- ‘मेरो लागि महाकुम्भ तब मात्र सम्पन्न हुनेछ, जब अन्तिम श्रद्धालुले संगममा डुबुल्की लगाइ सक्नेछन् । त्यसैले बिहीवार ब्रह्ममुहूर्त प्रारम्भ भएसँगै मेला समाप्त हुनेछ ।’ यस मेलाका लागि एउटा नयाँ जिल्ला— महाकुम्भ नगर अधिसूचित गरिएको थियो, जसको सञ्चालनका लागि जिल्ला मजिस्ट्रेट, वरिष्ठ प्रहरी अधीक्षकसहित प्रशासनका उच्च अधिकारीहरू खटिएका थिए । महाकुम्भ मेलामा १३ अखाडाहरूले मुख्य तीन पर्व— मकर संक्रान्ति, मौनी अमावस्या तथा र वसन्त पञ्चमीका दिन अमृत स्नान गरेका थिए ।
ममताको ‘मृत्युकुम्भ’ टिप्पणी
तर, मौनी अमावस्याका दिन भएको भागदौडपछि अखाडाहरूको अमृत स्नान अन्योलमा परेको थियो । अन्ततः साधु(सन्तहरूले अमृत स्नान गरे र वसन्त पञ्चमीको स्नानपछि मेलाबाट बिदा भए । यो घटनालाई लिएर नेताहरूले सरकारलाई निशाना बनाए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले महाकुम्भलाई ‘मृत्युकुम्भ’ को संज्ञा दिइन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले यसको कडा प्रतिवाद गर्यो । समाजवादी पार्टी (सपा) र कांग्रेसले राज्य सरकारमाथि भागदौडमा मृतकको वास्तविक संख्या लुकाएको आरोप लगाए । सपा लगायत विपक्षी दलहरूले मेलामा सहभागी श्रद्धालुहरूको संख्यामा समेत प्रश्न उठाए । तर, सरकारका अनुसार १,८०० एआई क्यामेरा, ३,००० भन्दा बढी अन्य निगरानी क्यामेरा, ड्रोन, र ६०,००० कर्मचारीहरूको माध्यमबाट श्रद्धालुहरूको सही संख्या गणना गरिएको थियो ।
३७,००० प्रहरी, १४,००० होमगार्ड खटाइयो
एक वरिष्ठ अधिकारीका अनुसार, श्रद्धालुहरूको संख्या गणना गर्न एआई क्यामेराका साथै हामी रोडवेज, रेलवे र विमानस्थलका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थियौं । महाकुम्भ मेलामा अग्निशमन विभागले आगलागी रोक्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । आगलागीको सूचना आएपछि तुरुन्तै नियन्त्रण गर्ने कदम उठाइएकाले कुनै ठूलो दुर्घटना हुन पाएन । श्रद्धालुहरूको सुरक्षाका लागि ३७,००० प्रहरी, १४,००० होमगार्डहरू तैनाथ गरिएका थिए । यसका अतिरिक्त, तीन जल प्रहरी थाना, १८ जल प्रहरी कन्ट्रोल रूम र ५० ‘वाच टावर’ समेत स्थापना गरिएका थिए।
प्रसिद्ध व्यक्तित्वहरूको सहभागिता
महाकुम्भ मेलामा भाग लिने चर्चित व्यक्तित्वहरूमध्ये भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक, उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, एप्पलका संस्थापक स्टीव जब्सकी पत्नी लोरेन पोवेल, बेलायती रक ब्याण्ड कोल्ड प्लेका प्रमुख गायक क्रिस मार्टिन मुख्य रूपमा उपस्थित थिए । नेपालबाट पनि गगन थापासहितका नेतासहित विभिन्न कलाकार तथा हजारौं श्रद्धालु भक्तजनहरु कुम्भमेला पुगेका थिए । मेलामा कांग्रेस नेता अर्जुन नरसिंह केसी, डा.प्रकाश शरण महत पनि पुगेका थिए । त्यस्तै अभिनेत्री नीता ढुंगाना, अभिनेता हरिहर अधिकारी, अभिनेत्री वर्षा राउत, अभिनेता संजोग कोइराला, अभिनेत्री मलिना जोशी, अभिनेत्री पूजा शर्मा आदिले पनि डुबुल्की लगाए । साथै, सोशल मीडियामा चर्चित व्यक्तित्वहरू- हर्षा रिछारिया, माला बेच्ने मोनालिसा भोसल, र ‘आईआईटी बाबा’ का रूपमा परिचित अभय सिंह पनि यस मेलामा विशेष रूपमा चर्चामा रहे ।