जनकपुरधाम । आज मधेसका विभिन्न जिल्ला धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्मको गाउँ–सहरहरूमा भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेह साथ उल्लासपूर्वक मनाइँदै छ ।
यो पर्व दाजुभाइ र दिदीबहिनीबिचको आत्मीयता, स्नेह, र रक्षा सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ।पण्डित दिनेशचन्द्र मिश्रका अनुसार, भरदुतिया पर्व कार्तिक शुक्ल पक्षको दोस्रो तिथि, अर्थात् दुतियाको दिन मनाइन्छ ।
पौराणिक कथाअनुसार, मृत्युका अधिपति यमराज आफ्नो बहिनी यमी (यमुना)लाई भेट्न स्वर्गबाट पृथ्वीमा आएका थिए ।
यमीले दाजु यमलाई आरती, टिका, पुष्पमाला र स्वादिष्ट भोजनले स्वागत गरिन् । भोजनपछि यमराज भावुक भएर यमीलाई भने,’आजको दिन जसले आफ्नी बहिनीबाट टिका लगाउँछ र बहिनीको हातको भोजन ग्रहण गर्छ, ऊ दीर्घायु र सुखी हुनेछ।”
त्यसै दिनदेखि यो पर्वलाई ‘यमदुतिया अथवा ‘भरदुतिया’ भनेर मनाउने परम्परा सुरु भएको मानिन्छ ।मिथिला क्षेत्रका घरघरमा बिहानैदेखि महिलाहरूले आँगनमा अरिपन (माटोको सुन्दर चित्र) बनाई पूजा तयारी गर्छन् ।
घरका दाजु र भाइलाई पूजा गर्नका लागि काठको पिँढी (पाटी) राखिन्छ। त्यसमा पिठार, सिन्दूर, दुबो, पान, सुपारी, र अक्षता राखिन्छ । बहिनीहरूले हातमा पानी, दूबो र फूल लिएर मन्त्र उच्चारण गर्दै भाइलाई टिका लगाउँछन् ।
जनकपुरधाम–७ की पर्मिला साह भन्छिन् हामी मिथिलामा यो पर्वलाई केवल टिका–उपहारको रूपमा होइन, स्नेह र ममताको प्रतिकका रूपमा मनाउँछौँ। भाइलाई टिका लगाइसकेपछि बज्री (कडा अन्न) खुवाउने चलन छ ।
महोत्तरीको पिपरा–६ निवासी शिला झाका अनुसार आज हामी दिदी–बहिनीहरू बिहानैदेखि भाइको बाटो पर्खेर बस्छौँ। जब उनीहरू घर आइपुग्छन्, हामीले उनीहरूको मन पर्ने परिकार जस्तै खाजा, दही–चिउरा, लड्डु, खाजा परिकार, मिष्ठान्न बनाएर खुवाउँछौं। त्यसपछि टिका, फूलमाला र उपहार दिई दीर्घायुको कामना गर्छौँ ।
यो पर्वमा परिवारका सदस्यहरू टाढा रहेका भाइहरूका लागि बहिनीहरूले अन्न र अक्षता मिसाएर दूबो राखी टिका बनाएर पूजा गर्छन्। कतिपयले फोन, भिडियो कल र अनलाइन माध्यमबाट पनि टिका–शुभकामना आदान–प्रदान गर्छन् जसले आधुनिक समयमा पनि परम्पराको निरन्तरता झल्काउँछ ।
मिथिला संस्कृतिमा भरदुतिया पर्व विशेष स्थानमा रहँदै आएको छ। यो पर्वले नातागोता, सम्बन्ध र पारिवारिक एकता मजबुत बनाउने काम गर्छ । समाजका पण्डित र बुढापाकाका अनुसार आजको दिन बहिनीले भाइको रक्षा र दीर्घायुको कामना गर्छिन् भने भाइले बहिनीको सधैँ सुख समृद्धि र रक्षा गर्ने वाचा गर्छ ।
जनकपुरधामका समाजसेवी रमेश ठाकुर भन्छन् भरदुतिया केवल धार्मिक होइन, सामाजिक एकताको पर्व पनि हो। यसले हाम्रो संस्कार परम्परा र पारिवारिक सम्बन्धलाई मजबुत बनाउँछ । यो पर्वले हामीलाई पारिवारिक मूल्य, बन्धुत्व र सहअस्तित्वको पाठ पढाउँछ ।
मिथिला क्षेत्रमा यस दिन घर–घरमा मिठा परिकार मिष्ठान्न र परम्परागत पकवानहरू जस्तै ठेकुआ पुवा दही चिउरा बज्री तरकारी र दूध फलफूल तयार पारिन्छ। सबै सदस्यहरू एउटै थालमा बसेर भोजन गर्छन्, जसले एकताको प्रतीक जनाउँछ ।
धार्मिक दृष्टिले पनि यस पर्वको विशेष महत्त्व छ। यम–यमी संवादले भाइबहिनीबिचको पवित्र सम्बन्ध र जीवनको अमूल्यताको शिक्षा दिन्छ । त्यसैले मिथिला मधेसमा यो पर्वलाई भाइको आयु र बहिनीको स्नेहको उत्सव पनि भनिन्छ ।
आज जनकपुरधाम जलेश्वर लहान मलंगवा औरही मधवापुर र बर्दिबासजस्ता सहरहरूमा बिहानैदेखि मन्दिर र घरमा पूजा–अर्चना भइरहेको छ। बजारहरूमा टिका फुलमाला र मिठाईको कारोबार चहलपहलपूर्ण बनेको छ ।
मिथिला समाजमा यो पर्वले दाजुभाइ र दिदीबहिनीबिचको स्नेहलाई अझ प्रगाढ बनाउँछ। एक बहिनीका शब्दमा टिका त सानो कुरा हो तर यसमा हाम्रो मनको माया र भाइको दीर्घ जीवनको कामना मिसिएको हुन्छ ।
यसरी भरदुतिया केवल एक धार्मिक पर्व होइन, यो मिथिलाको सामाजिक सांस्कृतिक र पारिवारिक जीवनको हृदय हो ।