९ मंसिर २०८१, आईतवार

ओली–प्रचण्ड फेरि नजिकिन सक्ने ७ आधार


नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् ।

कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चालनमा भएको असहयोग र गठबन्धनको विरोधका बीच प्रचण्ड र ओलीबीच नियमित ढंगले अर्थपूर्ण भेट भइरहेका हुन् । कांग्रेसलाई दबाब दिन मात्रै भन्दा पनि भावी समीकरणको तयारीस्वरूप दुई नेताबीच भेटघाट भइरहेको कतिपय नेताको दाबी छ ।  पछिल्लोपटक देखिएका ७ घटनाक्रम प्रचण्ड र ओलीलाई जोड्ने र कांग्रेससँगको सम्बन्ध तोड्ने आधार बन्न सक्ने देखिएको छ । वर्तमान परिस्थितिको ‘टर्निङ पोइन्ट’ कांग्रेस महासमिति बैठक र फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको चुनाव बन्ने दाबी ती नेताहरूको छ ।

बाहिर सरकार र गठबन्धनविरोधी चर्का कुरा गरे पनि पछिल्लो समय ओलीले प्रचण्डसँग ‘ब्याक टुक ब्याक’ भेटेका छन् । परिस्थिति बिग्रिन नदिन ओलीले यसपटक एक्लै प्रधानमन्त्रीसँग निरन्तर वार्ता गरिरहेको स्रोतले दाबी गर्‍यो ।

राजनीतिक समीकरण बदल्न सक्ने केही आधार र परिस्थितिहरूबारे यहाँ चर्चा गरौं :

परिस्थिति १ : राष्ट्रिय सभा निर्वाचन

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचन अहिलेको सत्ता गठबन्धनका लागि पहिलो पेचिलो विषय बन्ने देखिएको छ, किनकि माओवादी समेतको समर्थनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने समझदारी नमान्न प्रचण्डलाई पार्टीभित्रैबाट दबाब छ ।

कोशी प्रदेशमा पटक–पटक धोका र संवैधानिक परिषदमा शून्य हुने स्थिति आउने भएपछि माओवादी राष्ट्रिय सभा अध्यक्ष गुमाउन चाहँदैन । सत्ता गठबन्धनमा असमझदारी बढाउन एमालेले माओवादी उम्मेदवारलाई समर्थन गर्ने आश्वासन नै दिएको दाबी स्रोतले गर्‍यो ।

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने अडान लिए यही किचलोले सत्ता गठबन्धन खल्बलिने देखिन्छ । यसरी कांग्रेस भड्किए अघिल्लो वर्षको १० पुसमा बनेको गठबन्धन फेरि दोहोर्‍याउन सकिने आशामा ओली छन् ।

परिस्थिति २ : शान्ति प्रक्रियाको सकस

आफैंसँग सबैभन्दा बढी सरोकार भएको शान्ति प्रक्रियालाई जसरी पनि टुंगोमा पुर्याउन चाहन्छन्, प्रचण्ड । तेस्रोपटकको कार्यकाललाई नै प्रचण्ड आफैंले अन्तिम भनेका छन् । आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया नटुंगिए यो विषय यत्तिकै अलपत्र पर्ने प्रस्ट बुझाइमा उनी रहेको माओवादीका नेताहरू बताउँछन् ।

शान्ति प्रक्रिया टुंग्याउने सवालमा कांग्रेस उदार छ । तर, एमालेले निरन्तर अड्काउँदै आएको छ । त्यसैले पनि एमालेलाई साथमा लिन पाए सर्वसम्मत ढंगले शान्ति प्रक्रिया टुंग्याउन सकिन्छ भन्ने बुझाइमा प्रचण्ड देखिन्छन् । त्यस्तो अवस्थामा कांग्रेसको पनि असहयोग नहुने बुझाइ उनको छ । सत्तामा वा बाहिर जहाँसुकै रहे पनि शान्ति प्रक्रियाबारे कांग्रेसको धारणा उही नै छ ।

शान्ति प्रक्रियालाई पूरा गर्ने र एमाले पनि नरम हुने स्थितिको बोध शक्ति राष्ट्रलाई समेत गराएर विश्वासमा लिन सकिने बुझाइ प्रचण्डको रहेको स्रोतहरूको दाबी छ ।

परिस्थिति ३ : सरकारमा कांग्रेसको असहयोग

आफ्नो तेस्रो तथा सम्भवतः अन्तिम कार्यकाललाई प्रचण्डले सुशासन र समृद्धिका लागि अर्थपूर्ण बनाउने बताउँदै आएका छन् ।

विश्वव्यापी आर्थिक मन्दीको असर पर्दा समृद्धिका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्री चुकेका छन् । तर, भ्रष्टाचार र अनियमितताविरुद्ध कदम चालेर नागरिकमा आशा र भरोसा दिलाउँदै सुशासन दिने महत्त्वाकांक्षा प्रधानमन्त्रीले पालेका थिए । तर, बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता विषयमा गठबन्धनबाट प्रभावकारी सहयोग नपाएको बुझाइ प्रधानमन्त्रीको छ ।

सुशासनका लागि काम गर्न खोज्दा कहिले वरिष्ठ प्रहरी अधिकारीको सरुवा त कहिले छानबिनलाई कमजोर बनाउन कांग्रेसबाट आएको दबाबबाट प्रधानमन्त्री आजित भएको नेताहरू बताउँछन् । ठूला काण्ड सनसनी भएर आउने तर अनुसन्धान कमजोर बन्दै गएपछि सुशासन भन्ने नारा पनि कामकाजी हुन नसकेको प्रधानमन्त्रीको बुझाइ रहेको बताइन्छ ।

यस्तोमा मन्त्री परिवर्तन गरेर भए पनि नतिजा दिलाउन प्रधानमन्त्रीले पटक–पटक कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । तर देउवा मन्त्री परिवर्तनमा उदासीन बन्दा प्रचण्ड असन्तुष्ट छन् । गत पुस १० गते सरकारको एक वर्ष पुगेको अवसरमा सार्वजनिक रूपमै प्रचण्डले मन्त्री परिवर्तन गरेर काम देखाउने बताएका थिए । तर, त्यसयताको २ महिनासम्म एकजना पनि मन्त्री चलाउन सक्ने अवस्थामा प्रचण्ड रहेनन् ।

अर्थमन्त्रीले आफ्नो अपेक्षाअनुसार काम नगर्दा प्रचण्डले उनलाई हटाउन चाहेका छन् । बरु कांग्रेसकै कुनै प्रभावशालीलाई नेतालाई अर्थमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेको नेताहरू बताउँछन् । तर, देउवा कुनै हालतमा अर्थमन्त्री महतलाई हटाउन तयार नभएपछि अरू मन्त्री फेर्ने चाहना समेत प्रचण्डले पूरा गर्न सकेका छैनन् ।

परिस्थिति ४ : कांग्रेस झस्काउने प्रचण्डको अभिव्यक्ति

अरू परिस्थिति मात्रै होइन, प्रधानमन्त्री प्रचण्डकै अभिव्यक्तिले पनि उनी कांग्रेससँग असन्तुष्ट रहेको बुझ्न सकिन्छ । माघ २९ गते सोमबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले पटक–पटक कोशीमा धोका दिएको भन्दै कांग्रेससँगको सहकार्यका विषयमा गम्भीर विमर्शको खाँचो औंल्याएका थिए ।

‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा झर्‍यौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्‍यो । कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ । राजनीतिकरूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका निम्ति विचारणीय प्रश्न हो ।’

प्रचण्डले शान्ति प्रक्रिया नटुंगिएको भन्दै तत्काल गठबन्धन नटुट्ने पनि बताएका थिए । तर, प्रचण्डको यो अभिव्यक्तिले कांग्रेस नेतृत्वमा खैलाबैला नै मच्चिएको नेताहरू बताउँछन् । उनको अभिव्यक्तिलगत्तै देउवाले उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई बालुवाटार पठाएर प्रचण्डको कुरा बुझ्न लगाए । प्रचण्डले खड्कालाई पार्टी नेताको आक्रोश र असन्तुष्टिलाई साम्य पार्न आफूले त्यस्तो अभिव्यक्ति दिएको भन्दै आश्वस्त पार्न खोजेका थिए । तर, कांग्रेस नेताहरू प्रचण्डको यो अभिव्यक्तिपछि धेरै झस्किएका छन् ।

‘गठबन्धनको प्रधानमन्त्रीले कार्यकर्तालाई थामथुम पार्न मात्रै यसरी बोल्नुभएको भन्ने लाग्दैन,’ कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘प्रचण्डले कांग्रेसको महासमितिपछि सरकार सहजै चलाउने, मन्त्री फेर्न पाउने र राष्ट्रिय सभामा सहजता महसुस गर्ने अवस्था नबने परिस्थिति हाम्रो अनुकूल नहुन पनि सक्छ ।’

परिस्थिति ५ : गठबन्धन नगर्ने कांग्रेसको ‘डिस्कोर्स’

प्रचण्डपछि आलोपालोमा प्रधानमन्त्री कुरिरहेका देउवा प्रचण्डलाई भड्काउने मनस्थितिमा देखिएका छैनन् । तर, देउवाले परिस्थितिलाई सम्हाल्न खोज्दाखोज्दै पनि स्थिति उनको नियन्त्रणबाट टाढिँदै जाने संकेत कांग्रेस महासमिति बैठकले गरेको छ ।

एकातिर प्रधानमन्त्री नै कांग्रेस संस्थापनको अडानबाट आक्रान्त छन्, अर्कातिर कांग्रेसको महासमितिमा सत्ता गठबन्धनको खुलेर विरोध मात्रै भएको छैन, महामन्त्री गगन थापाले ल्याएको सांगठनिक प्रस्तावमा चुनावी तालमेल र गठबन्धनको उछित्तो काडिएको छ ।

नेताहरूले सीट बढे पनि मत प्रतिशत घटेको, सरकारमा कांग्रेस भएको बोध गराउन नसकेको भन्दै सरकारप्रति कटाक्ष गरिरहेका छन् । थापाको अडानपछि देउवा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्ताव महासमितिमा ल्याउन दिन सहमत भएका छन् ।

सोमबार दिउँसो महासमिति बैठक उद्घाटन गर्दै देउवाले चुनावी तालमेलको विषय तत्कालीन परिस्थितिमा भर पर्ने भएकाले अहिले यसबारे केही नबोल्ने अडान लिएका थिए । तर त्यसै दिन रातिसम्म आफ्नै निवासमा भएको बैठकमा देउवा थोरै भाषा संशोधन गरेर थापाको प्रस्ताव मान्न तयार भए ।

थापाको प्रस्ताव प्रस्तुत हुँदा गठबन्धनमा असर नपर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पार्न देउवा त्यसै दिन उपसभापति खड्कासँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए ।

देउवाले आश्वस्त पार्न खोजे पनि अरू परिस्थितिको लेखाजोखा प्रचण्डले राम्रैसँग गरेका हुन सक्छन्, किनकि फेरि एमालेसँग मिल्दा हुने अर्को चुनावको फाइदा मात्रै होइन, आफ्नो सत्ता पाँचै वर्षसम्म तन्किने विश्वास पनि उनको हुन सक्ने नेताहरूको आकलन छ ।

२०८४ मा कांग्रेससँग गठबन्धन हुँदैन भने उसलाई किन कुरिरहने ? बरु कम्युनिस्टहरूबीच अहिलेदेखि नै सहकार्य गर्ने र तालमेलको आधार किन नबनाउने ? भन्ने प्रश्न माओवादीमा उठ्ने देखिएको छ ।

कोशीमा पटक–पटक धोका पाएपछि माओवादीका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्मा यो गठबन्धनको निरन्तरताको पक्षमा छैनन् । नेता पुनले त खुलेरै कांग्रेससँगको गठबन्धनको औचित्य सकिएको अभिव्यक्ति पटक–पटक दिएका छन् ।

पछिल्लोपटक माओवादी, नेकपा एस र जसपासँग मोर्चाबन्दी गरेका नेकपाका महासचिव विप्लवले समेत एमालेसँग मिलेर जान सकिने अभिव्यक्ति दिएका छन् ।

प्रचण्डका निकटका युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले कांग्रेस महासमितिको बैठकमा भएको गठबन्धनको विरोधपछि चेतावनी नै दिएका छन् ।

‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले चेतावनी दिएका छन् ।

कांग्रेसको प्रस्तावमा गठबन्धनको विरोध भइरहेको, प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटघाट भइरहेको बारे कांग्रेस महासमिति बैठकमा समेत समीक्षा भएको छ ।

महामन्त्रीद्वयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महासमिति सदस्यहरूले यसबारे प्रश्न उठाएका हुन् ।

पार्टीको प्रस्तावमा गठबन्धन, चुनावी तालमेलका विषयलाई उल्लेख गरिएको विषयले वातावरण झन् बिगार्ने भन्दै सदस्यहरूले प्रश्न उठाएको जानकारी एक सदस्यले दिए ।

सञ्जय गौतम, कुन्दनराज काफ्लेसहितका नेताले रणनीतिक कुरा प्रस्तावमा आएकोप्रति प्रश्न उठेको जानकारी दिए ।

सोमबार ओलीसँग भेट भएपछि प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसको बैठकमा गठबन्धनको विषयमा आएका प्रस्ताव र छलफलको विषयमा चासो राखेको बारे महासमिति बैठकस्थलमा नेताहरूबीच कुरा भएको एक नेताले बताए ।

परिस्थिति ६ : एमाले–माओवादी आपसी स्वार्थ र एमालेको चेतावनी

२०६४ मा पहिलो दल भएको माओवादी त्यसयताका २०७०, २०७४ र २०७९ को निर्वाचनसम्म आइपुग्दा निरन्तर कमजोर हुँदै आएको छ । आफ्नै संगठनको तागतभन्दा चुनावी तालमेल वा पार्टी एकता माओवादीका लागि बाध्यता बन्दै गएको छ । तथापि, नेताहरूले २०६४ मा जस्तै एक्लै चुनाव लडेर ठूलो उभार ल्याउने दाबी गर्न भने छाडेका छैनन् ।

नयाँ र स्वतन्त्र दलको चुनौतीपछि त अर्को चुनावमा माओवादीलाई एकातिर नटाँस्सिकन चुनाव जित्न कठिन हुने देखिएको छ । यस्तोमा कांग्रेससँगको तालमेल भन्दा एमालेसँगको तालमेल फाइदाजनक हुने मत माओवादी पंक्तिमा छ । विगतका चुनावले पनि त्यस्तै देखाएको छ ।

कांग्रेसमा गठबन्धनको विरोध भएपछि कम्युनिस्ट दल भएकाले एमालेसँगै तालमेल र कालान्तरमा पार्टी एकीकरणसम्मको विकल्प माओवादीलाई सहज हुने देखिन्छ । नेकपा हुँदै एमाले पनि विभाजित हुनु परेपछि छटपटीमा छ । यसैले माओवादी आफूहरूतिर आए नेकपा एकीकृत समाजवादी पनि तानिएर आउने र २०८४ को चुनावसम्म मिलेर जाने परिस्थिति बन्ने एमालेको बुझाइ छ ।

माओवादी र नेकपा एस नहुँदा एमालेले धेरै ठाउँमा दुई/चार हजार मतान्तरले प्रतिनिधिसभाको सीट गुमाएको थियो । अन्यथा एमाले कांंग्रेसभन्दा ठूलो दल हुने सम्भावना थियो ।

एमाले नेताहरूले मिल्ने भए अहिल्यै मिलौं, चुनावको मुख पुगेर रेस्क्यु गर्दैनौं भन्ने सन्देश प्रचण्डलाई प्रस्टरूपमा दिइसकेको स्रोतको दाबी  छ ।

‘चार वर्ष सत्तामा बस्ने, स्वार्थ सबै पूर्ति गर्ने अनि चुनावमा मात्रै कम्युनिस्टबीच तालमेल वा एकता गर्ने भनेर हुँदैन,’ एमाले स्रोत भन्छ, ‘मिल्ने भए अहिले नै मिलौं, सहकार्य गरेर अर्को चुनावमा पनि सँगै हिँडौं भन्ने हाम्रो प्रस्ताव छ ।’

एमालेले केन्द्रीय कमिटीबाटै निर्णय गरेर सत्ता गठबन्धन तोड्ने विषय आफूहरूको अभियान नै भएको बताएको छ । यसैले गठबन्धनमा देखिएको खटपटपछि राष्ट्रिय सभा, सरकारसहितका विषयलाई देखाउँदै माओवादीलाई विश्वासमा लिने दाउमा एमाले देखिन्छ । ​

परिस्थिति ७ : कांग्रेसमा इतर पक्षको असन्तुष्टि

कांग्रेसको देउवाविरोधी खेमा अहिलेको सत्ता गठबन्धन छिटोभन्दा छिटो भत्काउन चाहन्छ । डा. शेखर कोइरालाले खुलेरै सत्ता समीकरण राखिराख्न उचित नहुने बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेलसहितले खुलेर सरकारको विरोध गरेका छैनन्, तर प्रभावकारिता देखाउन नसके कांग्रेस सरकारमा बसिहरहनुको औचित्य नभएको बताइरहेका छन् ।

सहजै सत्ता हस्तान्तरण भएर देउवा प्रधानमन्त्री बने उनले २०८४ को चुनावअगाडि कांग्रेसको १५ औं महाधिवेशन नगर्ने बुझाइ उनीहरूको छ । सत्ता र शक्तिमा हुँदा देउवाले महाधिवेशन गराए आफैं हावी हुने र चुनावमा आफू अनुकूल टिकट बाँड्ने परिस्थितिप्रति पनि कांग्रेसको संस्थापनइतर पक्ष सचेत देखिएको छ ।यसैले यो गठबन्धनको निरन्तरताको पक्षमा कांग्रेसको संस्थापन इतर पक्ष छैन, किनकि दुईपटक प्रयास गर्दा पनि देउवाको संगठित शक्तिलाई परास्त गर्न नसकेको यथार्थ उनीहरूसामु छ ।