६ मंसिर २०८१, बिहीबार

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले आज पनि अवरोध गर्ने


काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले )ले संसदमा आज पनि विरोध जनाउने भएको छ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले टेरामक्स प्रकरणमा मुछिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्ने निर्णय गरेको छ।

त्यसका लागि सदनमा सशक्त विरोध गर्ने निर्णय पनि गरेको छ।

बिहीबारको बैठकमा बोल्दै सांसद रघुजी पन्तले विवादमा मुछिएका मन्त्रीहरूको राजीनामा नआए एमाले टुलुटुलु हेरेर नबस्ने बताएका थिए।

उनले झन्डा हल्लाउँदै मन्त्री अख्तियारमा बयान दिन जानु लाजमर्दो दृश्य भएको बताएका थिए।

एमाले प्रमुख सचेतक पदम गिरीले सदनमा शुक्रबार पनि विरोध जारी रहने बताए। उनले बालकुमारी घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, दोषी मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताए।

टेरामक्स प्रकरणमा स्वास्थ्य मन्त्री झन्डा हल्लाउँदै बयान दिन जाने, यो अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम हो कि होइन,’ उनले भने, ‘रामग्रामको जग्गा लिजमा दिने सन्दर्भमा पर्यटनमन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष लारक्याल लामाको बदनियत पुष्टि भइसक्दा पनि उनीहरू पदमा बस्न मिल्छ कि मिल्दैन? हाम्रो प्रश्न यति हो।’

बिहीबार केन्द्रीय कमिटीको समापन बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेका थिए।

उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरेका थिए।

‘मान्छे मरेका छन्, युवा मरेका छन्। युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ– मन्त्री दोषी छ। पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन। लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन। मन्त्री दोषी छ जसले गर्दा युवा मारिए। आफैंले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ। मन्त्री फूर्तिसाथ हिँड्छ।

आत्मग्लानी छँदै छैन। न सरकारलाई न मन्त्रीलाई! प्रधानमन्त्रीलाई अप्ठ्यारो भएको छैन। मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन? मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने। एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने। नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने?,’ उनले भनेका थिए।