६ मंसिर २०८१, बिहीबार

सदनमा मन्त्रीहरूको राजीनामा माग


 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाग लागेका मन्त्री बोकेर सरकारमै
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले )ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।
त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती पनि पदमा बस्न नमिल्ने उनले बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानुनविपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने पन्तले बताए । तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।
सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । पुस १३ मा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले फागुन ६ कै बैठकमा राजीनामा मागेका थिए ।
त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन के भयो भनेर प्रश्न गरे । प्रतिवेदन पढ्न कति दिनलाग्छ भनेर प्रश्न गरेका उनले भने, ‘प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ ।’राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाबारे प्रश्न उठाए ।
बारम्बार सुशासनको प्रतिबद्धता व्यक्त गरिरहने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको मन्त्रिपरिषदमै कुनै न कुनै आरोप लागेका मन्त्री छन् । प्रधानमन्त्री तीनलाई मार्ग प्रशस्त गर्न लगाएर छानबिन गर्नुको साटो दाग लागेका मन्त्री बोकेरै हिँडिरहनुभएको छ । आफैं संलग्न सरकारले बनाएको आयोगले दोषी ठहर गरिसक्दासमेत मन्त्री ज्वाला पदमै आसिन छन् । दाहाल मन्त्रिपरिषद्कै अर्का सदस्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतमाथि अख्तियारले टेरामक्स प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
अख्तियारले बस्नेतसँग बयान पनि लिइसक्यो । लुम्बिनी विकास कोषमार्फत बुद्धको अस्थिधातु समाधिस्थल कानुनविपरीत निजी कम्पनीलाई लिजमा दिलाउने निर्णय गराएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पनि अहिले चर्को आलोचना भइरहेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहरक्याल लामा बुद्धको अस्थिधातुसम्बन्धी निर्णयमा मन्त्रीसँगै मुछिएका व्यक्ति हुन ।
सरकारमै बसेर कानुनविपरीत काम गर्ने, छानबिनमा तानिने र दोषी करार भइसक्दा पनि पदमै बसिरहने तीनैजना मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो । तर, न उनीहरुले राजीनामा दिए न प्रधानमन्त्रीले नै ती मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । टेरामक्स प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीसँगै नेपाल सरकारकै मुख्यसचिव वैकुण्ठ अर्याल पनि तानिएका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय दोहोरो नागरिकता र राहदानीको विवादमा मुछिएका छन् ।