६ मंसिर २०८१, बिहीबार

जहाज कुर्दा कुर्दै कोल्टीमा फेरी एक जना विरामीको मृत्यु ।


सर्मिला रोकाया, कोल्टी, बाजुरा

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिए पछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको हो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुगेका कार्कीको उपचार सम्भव नभए पछि रिफर गरीएको थियो । कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीतको सुविधा भएको अस्पतालमा रिफर गरिएको बताउनुभयो । खत्याग गाउँपालिका १ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो ।

रिफर गरिएका ६० वर्षिया कार्कीका आफन्त जहाज आउने पर्खाइमा थिए । मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो अवरुद्ध भए पछि जहाजको पर्खामा रहेका आफन्त उचारका लागि जिल्ला वाहिर लैजाने तयारीमा रहे पनि जहाज आएन । रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआए पछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए । सडक बाटो संम्भव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाउनु परेको छ । विरामी रातापानीबाटै आउन ढिला भइसकेको थियो ।

उच्च रक्तचाप सहीतको समस्याले मान्छे चिन्न र बोल्न समेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरि उपचार संम्भव थिएन्, हामीसँग त्यो सुविधा छैन, हामीले रिफर गर्याै, जहाज आएन, सडकबाट लिन झन संभव नै थिएन, दुर्भाग्य बचाउन सकिएन, डाक्टर न्यौपानेले भन्नुभयो । बाजुरामा तीन महिना यता मात्रै जहाज कुर्दै र सडक बाटोमा लैजादै गर्दा ४ जना बढीले ज्यान गुमाएका छन् । यता नागरिक उड्यन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ । कोल्टीमा जहाज भन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि सोही समस्या दोहोरिएको छ ।

लामो समय पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ । पाँच जना मध्य तीन जना बाहिरिएर २ जनामा कार्यरत छन । जिल्ला अस्पतालमा स्थायी दरबन्दी नहुँदा पनि कोल्टीले स्थायी दरबन्दीको डाक्टर पाएको छ । तर भवन, उपकरण, सुविधा र आवश्यक संरचना नहुँदा डाक्टरलाई समेत उपचार सेवा दिन कठिनाई छ । हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित छैन्, एम्बुलेन्स सेवा समेत नभएपछि विरामीलाई समस्या हुने नै भयो, डाक्टरहरुको सामुहीक गुनासो छ ।

एम्बुलेन्स नै नभएर सामान्य जीपमा जानु पर्ने हुने हुँदा अक्सीजन समेत जोड्न समस्या हुने अवस्था यहाँका नागरिकले भोग्नु परेको छ । कोल्टी क्षेत्रका स्थानीयले कहिल्यै हवाइ सेवा, कहिल्यै चिकित्सक सेवा, कहिल्यै औषधी अभावको समस्या वर्षेनी भोगिरहन बाध्य छन ।