२० चैत्र २०८१, बिहीबार

नेपाल-भारत स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न


काठमाडौं, फागुन २५ – नेपालस्थित भारतीय राजदूतावासले फेब्रुअरी ७, २०२५ मा दोस्रो ‘नेपाल-भारत स्टार्टअप कनेक्ट’ कार्यक्रम आयोजना गर्‍यो। यस अवसरमा स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरूङ हुनुहुन्थ्यो।

कार्यक्रमको प्रारम्भ डीपीआईआईटी, भारत सरकार, स्टार्टअप इंडिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ), नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (एनएएस-आईटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (एनएएसटी), काठमाडौँ विश्वविद्यालय तथा नेपाली स्टार्टअप प्रतिनिधिहरूको उपस्थितिमा गरिएको गोलमेच छलफलबाट भयो।

विशेष सम्बोधनमा, मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालमा नवीनतम सूचना प्रविधि अपनाउने प्रवृत्ति र यसले स्टार्टअपहरूको लागि सिर्जना गरेको अवसरबारे चर्चा गर्नुभयो। उहाँले नेपाल र भारतबीचको बलियो सम्बन्ध तथा दुई देशका नागरिकहरूको सहज कार्य अवसरबारे प्रकाश पार्दै नेपाली कम्पनीहरूलाई स्टार्टअप महाकुम्भ २०२५ मा सहभागिता जनाउन आग्रह गर्नुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतमा स्टार्टअप संस्कृति कसरी मुख्यधारमा प्रवेश गरेको छ भन्ने चर्चा गर्नुभयो। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले भारतमा डिजिटल क्रान्तिलाई तीव्र बनाएको र नेपाल-भारत स्टार्टअप सहकार्यका लागि अवसरहरू सिर्जना गरेको बताउनुभयो। यसै सन्दर्भमा, नेपालका फोनपे र भारतका यूपीआईबीचको अन्तरसम्बद्धता महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले मार्च २०२४ देखि मात्र ४ लाखभन्दा बढी मर्चेन्ट कारोबार सम्पन्न भएको तथ्य प्रस्तुत गर्नुभयो।

डीपीआईआईटी, भारत सरकारका संयुक्त सचिव श्री सञ्जीवले स्टार्टअप महाकुम्भ २०२५ को बारेमा प्रस्तुति दिँदै यसलाई स्टार्टअप क्षेत्रमा प्रमुख कार्यक्रमका रूपमा विकास गरिएको जानकारी गराउनुभयो। एसएमके २०२५ मा ३,००० भन्दा बढी प्रदर्शक, १०,००० स्टार्टअप, १,००० लगानीकर्ता, इन्क्युबेटर र एक्सेलेरेटरको सहभागिता रहनेछ भने ५०,००० भन्दा बढी व्यवसायी तथा आगन्तुकहरूको अपेक्षा गरिएको छ। यस कार्यक्रममा फिनटेक, एआई, साइबर सेक्युरिटी, रक्षा प्रविधि, कृषि प्रविधि, खेलकुद प्रविधि, बायोटेक तथा स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रका नवीनतम प्रविधिहरू प्रदर्शन गरिनेछ।

उद्योग प्रवर्द्धन संस्थान (आईईडीआई) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले ‘नेपालमा स्टार्टअप नीति’ शीर्षकमा प्रस्तुति दिनुभयो। साथै, आईआईटी मद्रास प्रवर्तकका नयाँ पहल प्रमुख राजेन्द्र मूठाले प्रविधि प्रवर्द्धन, इन्क्युबेसन र उद्योग साझेदारीका अवसरहरूबारे जानकारी गराउनुभयो।

पहिलो प्यानल छलफलमा भारत-नेपाल स्टार्टअपहरूको सम्भावना बारे चर्चा गरियो। टेकरएक्सआरका सीईओ प्रशान्त मिश्राले भर्चुअल रियालिटी प्रविधिले पर्यटन क्षेत्रमा ल्याएको नवीनताबारे बताउनुभयो। एफ१ सफ्टका सह-संस्थापक असगर अलीले नेपाल सरकारको नागरिक एपको प्रभावबारे चर्चा गर्नुभयो। खल्ती वालेटका संस्थापक अमित अग्रवालले डिजिटल भुक्तानी प्रविधिको वृद्धिबारे जानकारी गराउनुभयो। आईआईटी मद्रास प्रवर्तकका राजेन्द्र मूठाले अत्याधुनिक प्रविधि स्टार्टअपहरूको सफलताका कथाहरू प्रस्तुत गर्नुभयो।

दोस्रो प्यानल छलफल ‘सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ मा केन्द्रित थियो। वृिद्ध सञ्जाल प्रालिका सीईओ सिक्सित भट्टाले नेपालमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासबारे जानकारी गराउनुभयो। नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ निलेश मान प्रधानले फिनटेक कम्पनीहरूका लागि नेपाल पे जस्ता डिजिटल प्रणालीहरूको महत्त्वबारे चर्चा गर्नुभयो। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. बलकृष्ण बलले डिजिटल सार्वजनिक वस्तुहरू निर्माणमा विश्वविद्यालयको योगदानबारे जानकारी गराउनुभयो।

समापन सत्रमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्कीले विशेष सम्बोधन गर्नुभयो।

कार्यक्रमका प्रमुख निष्कर्षहरू:

  • भारत र नेपाल दुवै देशका स्टार्टअपहरूका लागि अन्तर्राष्ट्रिय विस्तारका प्रमुख बजार हुन्।
  • स्टार्टअपहरू नवीनतम प्रविधि प्रयोग गरी नयाँ समस्या समाधान तथा सामाजिक चुनौतीहरूको व्यवस्थापन गरिरहेका छन्।
  • डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर स्टार्टअप नवप्रवर्तनको प्रमुख अवसरका रूपमा देखिएको छ।
  • डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर प्रणालीबीच अन्तरसम्बद्धताले थप लाभ प्राप्त गर्न सहयोग पुर्‍याउन सक्छ।
  • नेपाली स्टार्टअपहरूले भारतका इन्क्युबेटर तथा लगानीकर्ताबाट वित्तीय तथा परामर्श सहयोग प्राप्त गर्न सक्छन्।
  • आईआईटी मद्रास प्रवर्तक तथा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबीचको सम्झौताले स्टार्टअप इन्क्युबेशनलाई प्रवर्द्धन गर्नेछ।
  • नेपाल-भारत स्टार्टअप क्षेत्रमा अझ बढी सहकार्यको आवश्यकता छ।
  • नेपाली स्टार्टअपहरूले स्टार्टअप महाकुम्भ २०२५ मा सहभागिता जनाउने उत्साह व्यक्त गरेका छन्।

भारतीय दूतावासले नेपाल-भारत स्टार्टअप कनेक्टलाई प्रवर्द्धन गर्ने कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो नेपाल-भारत स्टार्टअप कनेक्ट जनवरी २४, २०२३ मा आयोजना गरिएको थियो। नेपाली शैक्षिक संस्था, स्टार्टअप तथा लगानीकर्ताहरूलाई भारतीय स्टार्टअप तथा इन्क्युबेटरसँग साझेदारी गर्न स्टार्टअप महाकुम्भ २०२५ मा सहभागी हुन आग्रह गरिएको छ।