६ मंसिर २०८१, बिहीबार

सशस्त्रको गोदाम आगलागी प्रकरण नष्ट भएका सामानको ठेकेदारले भुक्तानी अझै पाएन


काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९ जनालाई विभागीय कारवाहीको गर्ने निर्णय गरेको छ । आगलागीबाट करोडौंको क्षति भएको छानबिन समितिको प्रतिवेदन पछि सशस्त्र प्रहरीका दुई एसपीसहित ९ प्रहरी कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका हुन । आगलागी घटनामा गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेका अनुसार २ जना एसपी, १ डीएसपी, २ इन्सपेक्टर, १ सई, २ असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिएका छन् । शूरुमा डिआइजी पुरुषोत्तम थापाको पनि कमाण्ड कन्ट्रोलमा कमजोरी देखिएको भन्दै प्रश्न उठाइएको भएपनि कारवाहीको निर्णय भने भएको छैन । स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २०८० चैत २६ मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख थिए । सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गर्ने निर्णय भएको छ । श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय गरिएको छ । डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ । उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुनेछ । ‘उनीहरुको डिउटीमा कमजोरी देखियो’, डीआईजी न्यौपानेले भने ।
भण्डारणको जिम्मा पाएका श्रेष्ठले गोदामको सुरक्षा गर्न नसकेको निष्कर्षसहित छानबिन समितिले एसपी श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको थियो । समितिले भण्डारण शाखादेखि बाहिनीका एसपीसम्मलाई हेडक्वाटरमा तानेर छानबिन सुरु गरेको थियो । भण्डारण शाखाका एसपी श्रेष्ठसहित ७ जनासँग हेडक्वाटर तानेको थियो । केन्द्रीय गोदाम नं. ९ पशुपति बाहिनीको कम्पाण्डमा रहेकाले बाहिनीका एसपी सहितको टोलीलाई पनि हेडक्वाटर तानिएको थियो । घटना भएको समयमा ड्युटीमा रहेका बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई हेडक्वाटर तानिएको थियो ।त्यसपछि सशस्त्र हेडक्वाटरले स्पष्टीकरण सोध्यो सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११८ मा सजाय दिनु पहिला स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ ।स्पष्टीकरण चित्तबुझ्दो नभएपछि एसपी श्रेष्ठलाई चार वर्षसम्म बढुवा रोक्का गरिएको सशस्त्रको कानून शाखाले बतायो ।एसपीको चार वर्षसम्म बढुवा रोक्ने कारबाहीको आधिकार सशस्त्र प्रहरी नियमावलीले एसएसपी र डीआईजीलाई दिएको छ ।
कारबाहीमा परेका बाँकी ८ जनालाई भने नसियत दिइएको छ । एसपी अर्जुन खत्रीलाई नसियत दिइएको छ । आगलागी भएको बेला उनी नम्बर ९ पशुपति बाहिनीमा कार्यरत थिए बाहिनीका डीआईजी पुरुषोत्तम थापा थिए । खत्री कमाण्डर रहेको बेला आगलागी भएको थियो । ड्युटी कमाण्डर रहेको बेला घटना भएको, तर बेलैमा तदारुकता नदेखाउँदा आगो नियन्त्रण गर्न नसकिएको समितिले औंल्याएको थियो ।डीएसपी नारायण सेढाईलाई पनि कारबाही गरिएको छ । सेढाईलाई नसियत दिइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै सशस्त्र प्रहरी निरीक्षकद्धय गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेलाई पनि नसियत दिइएको छ ।सशस्त्र प्रहरी नियमावलीको दफा २२ अनुसार नसियत पाएको सशस्त्र प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा हुन पाउँदैनन् ।
सशस्त्र प्रहरीको गोदाममा आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए । नष्ट भएका सामानको ठेकेदारले भुक्तानी पाएका छैनन । सशस्त्र प्रहरीको गोदामको बीमा समेत गरिएको छैन । साथै सम्बन्धित कार्यालयमा पठाइहाल्नु पर्ने सामान पनि गोदाममै राखिएको थियो । कम्तिमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएका थिए ।
भूकम्प अघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो । विद्युत शर्ट भएर वा गोदामभित्र सानो आगोको झिल्को परेर गोदामभरि फैलिएको प्रतिवेदनमा औंल्याइएको छ ।बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालयमा पनि सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो । गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीमा गरिएको तर यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति नराखिएकाले ठूलो घटना हुन पुगेको समितिको निष्कर्ष छ ।
गृह मन्त्रालयले बनाएको छानबिन समितिले गोदाम तथा भण्डारणमा विपदबाट जोगिनका लागि सुरक्षा व्यवस्था कमजोर रहेको, सीसीटीभी सर्भिलेन्स नभएको र भण्डारण सुरक्षाका लागि आधिकारिक कुनै व्यक्ति नतोकेको जनाइएको छ ।‘भण्डारण स्थल र व्यवस्थापन हेर्ने जिम्मेवार निकायबीचको दूरी टाढा रहेको र भण्डारण व्यवस्थापनको जिम्मेवारी पाएको नौ नम्बर बाहिनीले राम्रोसँग नहेरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘के कारणले आगलागी भएको हो भन्न सक्ने अवस्था स्पष्ट हुन सकेन ।’ प्रतिवेदनमा सशस्त्र प्रहरीले सामान्य सतर्कता मात्रै अपनाएको भए कम क्षति हुने निष्कर्ष निकालिएको थियो । ‘आगलागी हुनुको कारण तथ्य प्रमाण फेला पार्न नसके पनि बिजुली शर्ट भएर वा हावाहुरीको सिजन भएकाले कतैबाट आगोको झिल्को पुगेर आगलागी भएको हुनसक्ने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सामान भण्डारण गर्दा ज्वलनशील र अज्वलनशील वस्तुहरू एकै ठाउँमा राख्दा आगलागीबाट धेरै क्षति व्यहोर्नुपरेको देखिन्छ ।’ प्रतिवेदनमा कम्तीमा ६ देखि ७ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको निष्कर्ष निकालिएको थियो । गोदाम सुरक्षाका लागि भनेर छुट्टै एउटा सेन्ट्री समेत नराखिएको, फायर डिटेक्टर र सर्भिलेन्स हुनुपर्नेमा समेत नभएको समितिले औंल्याएको छ ।