२८ चैत्र २०८१, शुक्रबार

काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न


काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरू तथा भारतमा अध्ययन गरिसकेका नेपाली पेशेवरहरूको उल्लेखनीय उपस्थिति थियो।

आइटेक (ITEC) भारत सरकारको विदेश मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि अग्रणी प्लेटफर्म हो। सन् १९६४ मा स्थापना भएको यस कार्यक्रमले हालसम्म १६० भन्दा बढी देशका २ लाखभन्दा बढी पेशेवरहरूलाई तालिम प्रदान गरिसकेको छ। भारतका १०० भन्दा बढी प्रतिष्ठित संस्थाहरूमा हरेक वर्ष १०,००० जना सहभागीहरूलाई विभिन्न कोर्षहरूमा पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण दिइन्छ।

समारोहमा नेपालका महान्यायाधिवक्ता श्री रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेक पूर्वविद्यार्थी श्री पवन खत्री, र सशस्त्र प्रहरी बलका उपरीक्षक श्री दयाराम शर्माले आइटेकसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरे।

सांस्कृतिक प्रस्तुति अन्तर्गत भारतको प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको समूह ‘यज्ञ’ ले मयूरभञ्ज छाऊ नृत्य प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध भए। साथै, नेपालको लोकप्रिय ‘कान्त दब दब ब्यान्ड’ ले लोक फ्युजन र ज्याज सङ्गीतमार्फत माहोललाई जीवन्त बनायो।

माननीय परराष्ट्रमन्त्री डा. देउवाले भारतमा अध्ययन गर्दाको अनुभव स्मरण गर्दै, शिक्षा र विकासका क्षेत्रमा भारत सरकारद्वारा सञ्चालित पहलहरूको खुलेर प्रशंसा गर्नुभयो। नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले नेपालका लागि आइटेक कार्यक्रमलाई अझ व्यापक बनाउने तथा नेपाल सरकारका प्राथमिकतासँग मेल खाने गरी अनुकूलित तालिम कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सन् २०२४–२५ मा मात्र नेपालका ५१० पेशेवरहरू भारतका प्रमुख संस्थानहरूमा प्रशिक्षणमा सहभागी भएका थिए। साथै, नेपालका २१ जना इन्जिनियरहरू जल व्यवस्थापनसम्बन्धी विषयमा आइआइटी रुडकीमा दुई वर्षे एम.टेक. कोर्षमा अध्ययनरत छन्। यसै वर्ष नेपाल प्रहरी, सशस्त्र प्रहरी, डाक्टर, सरकारी वकिल, न्यायिक प्रतिष्ठानलगायतका क्षेत्रका लागि १८ अनुकूलित तालिम कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

विगत १५ वर्षमा नेपालबाट ३,००० भन्दा बढी अधिकारीहरू आइटेक कार्यक्रमबाट लाभान्वित भइसकेका छन्। यसले भारत–नेपाल सम्बन्धमा क्षमता निर्माण र मानव संसाधन विकासको क्षेत्रमा गहिरो सहकार्यको सन्देश दिएको छ।

भारत–नेपालबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धमा आइटेक जस्ता कार्यक्रमहरूले साझेदारीको नयाँ अध्याय थप्दै दुवै देशका जनताबीच सशक्त सम्बन्ध निर्माणमा योगदान पुर्‍याइरहेका छन्।