चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी आएको छ । एआईबाट बनाइएका सिन्थेटिक तस्बिर र भिडियोहरू अझै पनि इन्टरनेटमा व्यापक रूपमा सेयर भइरहेका छन् ।
त्यस्ता सामग्रीमा अमेरिकी एजेन्टहरूले मदुरोलाई पक्राउ गरेको वा उनी सैनिकले घेरिएको देखाइएको छ । गुगल डिपमाइन्डको सिन्थआईडी प्रविधिले ती तस्बिरहरू एआईद्वारा निर्मित भएको पुष्टि गरे पनि टिकटक, इन्स्टाग्राम र एक्सजस्ता प्लाटफर्ममा ती लाखौँपटक हेरिएका छन् ।
वायर्डले गरेको विश्लेषणअनुसार यस्ता ठूला विश्वव्यापी घटनाका बेला कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो लोकप्रियता बढाउन भ्रामक सूचना फैलाउने गरेका छन् । प्रविधि कम्पनीहरूले कन्टेन्ट मोडरेसनमा जाँगर नदेखाउँदा त्यसकै फाइदा उठाएर मिथ्या र भ्रामक सूचना प्रसार हुने गरेको छ । ‘टिकटक, इन्स्टाग्राम, एक्सजस्ता ठूला प्लाटफर्महरूले यस्ता झुटा सामग्रीहरू रोक्न खासै प्रभावकारी कदम चाल्न सकेका छैनन्,’ वार्यडमा उनले लेखेका छन् ।
मदुरोको सन्दर्भमा कतिपयले सन् २०२४ का पुराना भिडियोहरू पुन: सम्पादन गरेर उनी अपदस्थ भएकोमा भेनेजुएलाको राजधानीमा उत्सव मनाइएको रूपमा गलत व्याख्या गर्दै पोस्ट गरेका छन् । अझ ‘डिफेन्स इन्टेलिजेन्स’ जस्ता एकाउन्टबाट सन् २०२५ मा टिकटकमा पोस्ट गरिएका पुराना फुटेजलाई काराकासमा भएको अमेरिकी आक्रमणको रूपमा प्रचार गरिएको छ । यी पोस्टमा २० लाखभन्दा धेरै भ्युज छन् ।
धेरै सेयर गरिएको एउटा तस्बीरमा मदुरोलाई सेतो पाइजामा लगाएको अवस्थामा एक सैन्य विमानभित्र देखाइएको छ । सो तस्बीर एआई निर्मित भएको पुष्टि भइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा पोस्ट गरेको तस्बिर अनुसार, मदुरोलाई हेलिकप्टरबाट ‘यूएसएस इवो जिमा’ (लडाकु पानी जहाज) मा लगिएको थियो । उनले खैरो ट्रयाकसुट, गगल्स (चस्मा) र हेडफोन लगाएका थिए ।
अर्को भाइरल तस्बीरमा टाउको र अनुहारमा नकाव ओढाइएका मदुरोसँग एक अमेरिकी सेनाले फोटो खिचाएको दाबी गरिएको थियो । तथ्यजाँच गर्ने संस्था, न्युजगार्डले उक्त तस्बिर भेनेजुएलासँग सम्बन्धित नभई सन् २००३ मा इराकका पूर्वनेता सद्दाम हुसेन पक्राउ पर्दाको पुरानो तस्बिर भएको पुष्टि गरेको छ ।
यसअघि इजरायल-हमास युद्ध वा इरानका आणविक स्थलहरूमा भएका आक्रमणका बेला पनि भ्रामक सूचना फैलिएका थिए । धेरैबेर हेरिने कन्टेन्टलाई नै अझै फैलाउने सामाजिक सञ्जालका अल्गोरिदम र कमजोर मोडरेसनले गर्दा पुराना फुटेज र एआईद्वारा सिर्जना गरिएका तस्बिरहरू वास्तविक समाचारका रूपमा प्रस्तुत गरिने क्रम यसपाली दोहोरिएको पत्रकार गिलबर्टको विश्लेषण छ ।
सन् २०१६ को ब्रेक्जिट, सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन, सन् २०१९ को कोभिड महामारीका बेला सामाजिक सञ्जालमा मिथ्या र भ्रामक सूचना अधिक फैलिएका थिए । संयुक्त राष्ट्र संघको ग्लोबल रिस्क नेपाल २०२४ मिथ्या र भ्रामक सूचनालाई स्थिरताका मुख्य तीन चुनौतीमध्ये एक मानिएको छ । पहिलोमा जलवायू परिवर्तन, दोस्रोमा प्रदुषण र तेस्रोमा मिथ्या र भ्रामक सूचना उल्लेख छ ।
‘यो चुनौती सम्बोधन गर्न देशहरूले आवश्यक तयारी गरेका छैनन्, करिब १३६ देशका १ हजार १०० भन्दा बढी विज्ञहरूले मिथ्या र भ्रामक सूचनालई गम्भीर जोखिमको सूचीमा राखेका छन् भने ८० प्रतिशतभन्दा बढीले यो अहिले नै भइरहेको बताएका छन्,’ राष्ट्र संघकी वरिष्ठ सञ्चार विज्ञ क्यारोलाइना जी. एजेभेडोले लेखेकी छन्, ‘मिथ्या सूचनाले मानिसहरूमा सञ्चार माध्यम, सरकार र वैज्ञानिक तथ्यहरूप्रति अविश्वास पैदा गराउँछ, मानिसहरूले के साँचो हो र के झुटो हो भनेर छुट्याउन सकेनन् भने समाजमा अन्योल र अराजकता बढ्छ ।’