१३ बैशाख २०८३, आईतवार

सहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला परिन्, ढोका फुटाएर गरियो उद्धार


मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन् । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा लगिएको थियो । यो घटना शुक्रबार मध्याह्न करिब १२ बजेको हो ।

ती कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा थिइन् । परिवारका सदस्यहरुले उनलाई सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले मानसिक तनाव दिएकाले आत्महत्या प्रयास गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा उजुरी  दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो । उजुरी दर्ता नम्बर ७३६६ हो ।

प्रहरीले पीडकहरूलाई नियन्त्रणमा लिएर सोधपुछसमेत नगरेको भन्दै पीडित परिवारले गुनासो गरेको छ । पीडितका भाइले आरोपितहरूलाई राजनीतिक संरक्षण रहेकाले प्रहरीले कारबाही प्रक्रियासमेत अगाडि नबढाएको आरोप लगाए ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले पीडित उपचार गरेर फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने अनलाइनखबरलाई जानकारी दिए ।

घटनास्थलमा भेटियो ‘अलबिदा’ लेखिएको कागज 

कर्मचारीमाथि कार्यस्थलमा भएको दुर्व्यवहारका कारण उनले विषादी सेवन गर्न बाध्य भएको परिवारका एक सदस्यले जिकिर गरेका छन् । आरोपित ७ जनाले ती कर्मचारीमाथि पटक–पटक गालीगलौज गर्ने, गैरकानुनी काम गर्न दबाब दिने, चरित्र हत्या गर्ने तथा धम्की दिनेजस्ता व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

पीडितले विष सेवन गर्नुअघि ‘अलबिदा’ लेखेको करिब ७–८ पेजको सुसाइड नोटसमेत फेला परेको उनका भाइले बताए । ‘दिदीले विष सेवन गर्नुअघि भिनाजुलाई खबर गरिदिन भनेर भन्नुभएको रहेछ । पछि ढोका फुटाएर दिदीलाई कार्यालयबाटै उद्धार गरी अस्पताल लगिएको हो, चितवन आएर उपचार गरिरहेका छौँ,’ उनले भने ।

घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।

सहकारीका अध्यक्ष राजु वाइबाले ती कर्मचारीलाई तीनवटा जिम्मेवारी रहेकाले प्रशासन विभागको जिम्मेवारी छाड्न भनेको र सोही विषयमा उनी असन्तुष्ट बनेको बताए । उनका अनुसार पीडित कर्मचारीलाई कामु व्यवस्थापकसँगै ऋण विभाग र प्रशासन विभागको जिम्मेवारी छ । कार्यसमिति बैठकले नै सुशील सुवेदीलाई प्रशासन प्रमुख बनाउने निर्णय गरेकाले सफ्टवेयरको एडमिन उनलाई बनाउन खोजिएको वाइबाले बताए ।

ती कर्मचारीले आरोप लगाएजस्तो कुनै गतिविधि नगरेको वाइबाले दाबी गरे । उजुरीमा अन्य व्यक्तिको नाम मुछिनु आधारहीन भएको उनको दाबी छ ।

जिल्लाकै ठूलो सहकारीमा विवाद

हेटौँडा बचत सहकारीमा ७ हजार १ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । पुस २०८२ सम्म सहकारीले ७३ करोड ४८ लाख ६५ हजार ५४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ५५ करोड ६४ लाख २६ हजार ५८० रुपैयाँ कर्जा लगानी गरेको थियो । ५ करोड २ लाख २९ हजार २०० सेयर पुँजी रहेको सहकारीमा ५९ करोड १६ लाख ५६ हजार ६१८ रुपैयाँ बचत निक्षेप रहेको सहकारीको २६औँ साधारणसभामा पेस भएको आर्थिक विवरणमा उल्लेख छ । संस्थाको जगेडा कोषमा भने ४ करोड ११ लाख ७७ हजार ४२७ रुपैयाँ रहेको छ ।

जिल्लामै ठूलो कारोबार भएको यो सहकारीमा विगत २ वर्षदेखि पदाधिकारीबीच विवाद उत्पन्न भएको थियो । सहकारीले करिब पाँच वर्षअघि एटीएम मेसिन खरिद गर्दा घोटाला भएको आरोप लागेको र त्यसपछि विवाद चर्किँदै यो घटनासम्म आइपुगेको एक सेयर सदस्यले अनलाइनखबरलाई बताए । एटीएम मेसिन संस्थामै थन्किएर बसेको छ ।

पीडितका भाइले अनलाइनखबरलाई बताएअनुसार त्यतिबेलाको हिसाब मिलाउने उद्देश्य राखेर संस्थाका वर्तमान अध्यक्ष राजु वाइबाले शुक्रबार घटनाअघि सहकारीको सफ्टवेयरमा पहुँच मागेका थिए । भाइका अनुसार, उनले कार्यसमितिको नीतिगत निर्णय गरेर मात्रै हिसाब हेरफेर गर्नुपर्ने विषयमा अडान लिएर सफ्टवेयरको पासवर्ड दिन मानेकी थिइनन् । अध्यक्ष वाइबा संस्थाको निवर्तमान सहायक व्यवस्थापक थिए । उनले १ भदौ २०८२ मा राजीनामा दिएका थिए ।

वाइबा १५ चैत २०८२ मा भएको निर्वाचनबाट सहकारीको अध्यक्ष चुनिएका थिए । उनले सहकारीको व्यवस्थापकबाट राजीनामा दिएर अध्यक्षमा चुनाव लडेका रामशरण गौतमलाई पराजित गरेका थिए । गत २६ पुसमा संस्थाको २६औँ साधारणसभा भएको थियो । त्यो सभाबाट सर्वसम्मत कार्यसमिति चयन हुन नसकेपछि चैतमा निर्वाचन गरिएको थियो ।