मुस्ताङ –बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएसँगै चीनबाट आयात गरिएका सामान बोकेका १७३ वटा कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती कन्टेनर पोखरा, काठमाडौंलगायतका सहरतर्फ गएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिएका कोरलानाकाबाट आयातित मालवस्तु बोकेका कन्टेनर सडक खुलेपछि बाहिरिन थालेका हुन्।
असोज २३ गते साँझ सडक मर्मतपछि यातायात सञ्चालनमा आएसँगै पहिलो दिन असोज २४ गते ८५ वटा कन्टेनर मुस्ताङबाट बाहिरिएका थिए। त्यसैगरी, असोज २५ गते दोस्रो दिन थप ८८ वटा कन्टेनर बेनीतर्फ प्रस्थान गरेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।
म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिका–४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा विभिन्न प्रकारका ३९१ वटा सवारीसाधन मुस्ताङबाट बाहिरिएका छन्। आज पनि ५० भन्दा बढी सवारीसाधन बाहिरिएको जनाइएको छ।
यसैबीच, मुस्ताङमा उत्पादित स्याउसमेत बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिएका छन्। सडक सञ्चालनमा आएसँगै आयातित सामान ढुवानी र स्थानीय कृषि उपजको बजारीकरण सहज हुने अपेक्षा गरिएको छ।