काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्।
मंगलबारदेखि भारतको नयाँ दिल्लीमा सुरु हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ। गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृहसचिवहरूको बैठक हुनेछ।
सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक हुन लागेको हो। बैठकमा यसअघि गृहसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका विषयमा छलफल हुने बताइएको छ।
यसअघि सन् २०१८ अगस्ट ३० र ३१ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।