४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

स्थानीय चोतोको सहभागितामुलक जातीय सुधार गर्दै गुणस्तरीय बीउ उत्पादनमा बाजुराका कृषक जुटे ।


सर्मिला रोकाया,बाजुरा
परम्परागत बालीको संरक्षण मात्रै होइन, त्यसको गुणस्तर सुधार गर्दै स्थानीय उत्पादन र उत्पादकत्वलाई नयाँ पहिचान दिने प्रयासमा जुटेका छन् बाजुराका कृषक । बाजुराको बुढीनन्दा नगरपालिका–९ काँधका कृषक स्थानीय चोतोको सहभागितामुलक बालि प्रजननमा आधरित जातीय सुधार र गुणस्तरीय बीउ उत्पादनमा जुटेका हुन् । पुस्तौँदेखि खेती हुँदै आएको चोतोको सम्भावना पहिचान गर्दै यसको बीउ छनोट, सुधार र उत्पादनलाई व्यवस्थित बनाउन सहभागितामूलक कृषक पाठशाला सञ्चालन गरिएको हो ।

ली–बर्ड,FWEAN र केसीडीसीको साझेदारी तथा BMZ जर्मनी र WHH को आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित इम्पावर परियोजनाअन्तर्गत चोतोको जातीय सुधार र बीउ उत्पादनमा जोड दिइएको छ । स्थानीय स्तरमा उत्पादन हुने चोतोको बीउलाई गुणस्तरीय बनाउँदै नेपालमा स्थानीय चोतो जातलाई दर्ता गर्ने लक्ष्य परियोजनाले लिएको छ ।

कृषक पाठशालामार्फत खेतबारिका बैज्ञानिक र कृषि प्राबिधिकको सहभागितामुलक ढंगले जग्गाको तयारी तथा चोतो रोप्ने, कृषि पारिस्थितिकीय प्रणालीको विश्लेषण, खेतबारीको अनुगमन तथा मूल्याङ्कन गरि बीउ उत्पादनका लागि उपयुक्त गानो छनोट गरी बीउ उत्पादनका गतिविधि सञ्चालन भइरहेका छन् । परियोजनाका जिल्ला संयोजक प्रभाकर जोशीका अनुसार २३ सदस्यीय निमा काङ्स्यार कृषि तथा पशुपालन कृषक समूहका १० जना कृषकबाट बीउ सङ्कलन गरी सहभागितामूलक जातीय सुधारमा आधारित कृषक पाठशाला सुरु गरिएको हो ।

जोशीले स्थानीय स्तरमा उत्पादन भएको चोतोको सुधारका लागि उत्पादन बढी हुने, स्वाद पिरो हुने, रोग किरा कम लाग्ने उधेस्यमा आधरित भएको पाठशाला बाट बिउ सुधार गरि नेपालमा जात दर्ता गर्ने लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि चोतोको बीउ सुधार प्रक्रिया निरन्तर अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

कृषक समूहका अध्यक्ष पेमा थापा भोटेका अनुसार जेठ १ देखि ६ गते सम्म सहभागितामुलक बाली प्रजननमा आधरित प्रशिक्षक प्रशिक्षण तालिम लिएपछि चोतो बाली छनोट गरी जग्गाको तयारी, खनजोत व्यवस्थापन र बीउ छनोट गरेर पाठशाला सुरु गरिएको हो । परियोजनाको सहयोग तथा समूहका कृषकको सक्रियतामा चोतोको जातीय सुधार र बीउ उत्पादनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
बुढीनन्दा नगरपालिकाका नायब प्राविधिक सहायक दीपक कार्कीले चोतोको जातीय सुधारमा केन्द्रित कृषक पाठशाला सान्दर्भिक र नौलो पहल भएको बताउनुभयो । पालिकाको कृषि शाखाले विभिन्न बालीमा काम गर्दै आए पनि चोतोको जातीय सुधारमा केन्द्रित कार्यक्रम नयाँ भएको उहाँको भनाइ छ ।

चोतो कम मेहनत र सानो क्षेत्रफलमा खेती गर्न सकिने सम्भावनायुक्त बाली भएकाले यसको क्षेत्र विस्तारसँगै गुणस्तरीय बीउ उत्पादन गर्न सके कृषकलाई आर्थिक लाभ पुग्ने कार्कीले बताउनुभयो । उहाँले यस कार्यलाई अघि बढाउन नगरपालिकाको कृषि शाखाबाट थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

यसैबीच, बुढीनन्दा नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा वडा नं. १० का अध्यक्ष नन्दबहादुर रोकायाले स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलफूलको उचित बजारीकरण हुन नसक्दा कृषकले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो । स्थानीय नागरिकको जीविकोपार्जनसँग जोडिएका कृषि उत्पादनको प्रवद्र्धनमा विभिन्न संस्थाले काम गरिरहेको भए पनि कृषकले उत्पादनको उचित प्रतिफल पाउन नसकेको उहाँको भनाइ छ ।

फलफूल तथा तरकारीसमेत बजारको अभावमा बारीमै कुहिने समस्या रहेकाले उत्पादन सुधार र बजारीकरणमा नगरपालिकाले जोड दिने रोकायाले बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि अन्य सरोकारवाला निकायले समेत सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय चोतोको जातीय सुधार र गुणस्तरीय बीउ उत्पादनका लागि सुरु गरिएको कृषक पाठशालाले परम्परागत बालीको संरक्षण, उत्पादनमा सुधार र कृषकको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उत्पादित बीउलाई आधिकारिक रूपमा सिफारिस तथा दर्ता गर्न सके चोतोको खेती विस्तारसँगै यसको व्यावसायिक सम्भावना बढ्ने देखिन्छ ।

त्यस्तै सहभागितामूलक बाली प्रजननमा आधारित चोतो कृषक पाठशालाको कृषक दिवसका अवसरमा चोतोका विभिन्न परिकारको स्वाद परीक्षण तथा बीउ उत्पादनका लागि गानो रोप्ने अभ्यास गरिएको छ । कृषक दिवसका अवसरमा चोतोबाट तयार पारिएका अचार, सलादलगायत विभिन्न परिकार बनाएर स्वाद परीक्षण गरिएको हो। स्थानीय बालीको प्रयोग, स्वाद र सम्भावनाबारे कृषकलाई थप जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजना कृषि अधिकृत विक्रम आचार्यले जानकारी दिनुभएको छ ।

उहाँले चोतोको बीउ उत्पादन तथा विभिन्न विधिको प्रभावकारिता परीक्षण गर्न गानो तीन तरिकाबाट रोपिएको छ। स्थानीय परम्परागत विधि, स्वाद गुलियो बनाउने उद्देश्यले गानोमा चिनीको प्रयोग गरिएको विधि र सुधारिएको स्थानीय विधिबाट गानो रोपेर परीक्षण सुरु गरिएको बताउनुभयो ।
पहिलो चरणको कृषक पाठशाला आगामी जेठ महिनासम्म बीउ उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन हुनेछ । पहिलो चरणमा उत्पादित बीउको थप परीक्षण तथा प्रभावकारिता अध्ययन गर्न पाठशालालाई निरन्तरता दिइने समेत उहाँले बताउनुभयो ।

 

ताजा समाचार