४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र


गोरखा – बूढीगण्डकी नदीले पैदलमार्ग कटान गरेपछि गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित जगत र सल्लेरी गाउँको आवतजावत ठप्प भएको छ। नदीले दुवै गाउँ जोड्ने बाटोका साथै गाउँबाट तल र गाउँपालिका केन्द्र फिलिमतर्फ जाने पैदलमार्गसमेत बगाएपछि स्थानीय सम्पर्कविहीनजस्तै अवस्थामा पुगेका छन्।

जगतबाट करिब ३० मिनेट पैदल हिँडेर पुग्न सकिने सल्लेरी जाने बाटो आइतबारदेखि अवरुद्ध भएको हो। बाटो कटानमा परेपछि जगतका बासिन्दा सल्लेरी जान सकेका छैनन् भने सल्लेरीका स्थानीय पनि जगत आउन पाएका छैनन्। गाउँबाट बाहिरिने र माथितिर जाने बाटोसमेत क्षतिग्रस्त भएपछि दुवै गाउँका बासिन्दाको दैनिक आवतजावत प्रभावित भएको छ।

जगतका स्थानीय गणेश कार्कीका अनुसार बाढीले हिँड्ने बाटो नै बगाएपछि स्थानीय बीच बाटोमै रोकिएका छन्। यसअघि प्रयोग हुँदै आएको पैदलमार्गमा अहिले बूढीगण्डकी नदी बगिरहेको उनले बताए।

बाटो अवरुद्ध हुँदा मनास्लु भ्रमणमा आएका एक सयभन्दा बढी पर्यटक जगतमै रोकिएका छन्। चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङ पनि सल्लेरीस्थित आफ्नै घरमा रोकिएका छन्। गाउँपालिका केन्द्रसम्म पुग्ने बाटो नहुँदा आफू पनि बाहिर निस्कन नसकेको उनले बताए।

सल्लेरीमा मजदुर, जलविद्युत् आयोजनाका कर्मचारी र स्थानीय गरी करिब ७० जना रहेका छन्। गाउँपालिकाले हेलिकप्टरमार्फत केही खाद्यान्न पुर्‍याएको वडाध्यक्ष गुरुङले जानकारी दिए। त्यहाँ रोकिएका मजदुरलाई हेलिकप्टरबाट माछाखोलासम्म झार्ने विषयमा पनि पहल भइरहेको उनले बताए।

जगत र सल्लेरीमा अलपत्र परेका पर्यटक तथा मजदुरको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। यसअघि जगतबगरनजिकै बाटोमा फसेका छ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

ताजा समाचार