काठमाडौँ –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा भासिएको सडक खण्डमा मर्मतसम्भार गर्न सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा सडक बन्द रहने जनाएको हो।
शुक्रबार सडक भासिएपछि भित्तो काटेर आइतबार साँझदेखि उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालन गरिएको थियो। सडकको ट्र्याक खुलाएर सवारीसाधन चलाउन थालिए पनि थप मर्मत आवश्यक भएकाले अस्थायी रूपमा यातायात बन्द गर्न लागिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए।
उनका अनुसार दसैंका कारण उक्त सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक छ। समयमै मर्मत नगरे वर्षा हुँदा हिलोमा सवारीसाधन फस्ने जोखिम रहेकाले अहिले नै मर्मत गर्न लागिएको हो।
गलौंदीमा करिब ७० मिटर सडक प्रभावित भएको छ। सडक विभागका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा त्यसको असर अहिले देखिएको हो।
पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।