१८ माघ २०८२, शनिबार

‘निर्वाचन लड्नुमात्रै आन्दोलनको मर्म होइन’


जेनजी अगुवा रिजन राना जेनजी पुस्ताले केवल पदका लागि होइन, एउटा निश्चित मार्गचित्र र परिवर्तनको ग्यारेन्टी खोजिरहेको बताउँछन् । उनले पुरानो र नयाँ भन्ने भाष्य पनि गलत रहेको बताउँछन् ।
समसामयिक राजनीति, चुनावको तयारी र आसन्न निर्वाचनमा जेनजी पुस्ताको भूमिकाका सन्दर्भमा केन्द्रित रहेर रानासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा मूलधारका र वैकल्पिक भनिएका राजनीतिक दलहरूले जेनजी पुस्तालाई कसरी लिएको पाउनुभएको छ ?
हाम्रो बुझाइमा भदौको त्यो ऐतिहासिक आन्दोलनपछि देशमा एउटा आमूल परिवर्तन र सुसंस्कृत राजनीतिको अपेक्षा गरिएको थियो । बहुदलीय लोकतन्त्रमा सबै दल सुध्रिएर आउन् भन्ने हाम्रो चाहना हो, तर विडम्बना ! अहिले पनि राजनीतिक दलहरूको ध्यान आन्तरिक लोकतन्त्र मजबुत गर्ने वा जनताको विश्वास जित्ने कार्यक्रम ल्याउनेभन्दा बढी राजनीतिक खिचातानी र फाइदा–बेफाइदामै केन्द्रित देखिन्छ । उहाँहरूले जेनजी आन्दोलनको वास्तविक मर्मलाई अझै पनि आत्मसात् गर्न सक्नुभएको छैन ।
केही सुधारका संकेत त देखिएका छन्, तर ती केवल देखावटी वा बाध्यात्मकमात्र हुन् कि भन्ने शङ्का छ । तात्त्विक रूपमा हुनुपर्ने राजनीतिक संस्कारको सुधार अझै हुन सकेको छैन ।
यो निर्वाचनमा प्रत्यक्षतर्फ जेनजी पुस्ताका उम्मेदवारहरूको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको छ । यसको मुख्य कारण के होला ? के यो पुस्ता चुनाव लड्न डराएको हो ?
यसलाई डराएको भन्न मिल्दैन । यसका केही प्राविधिक र केही राजनीतिक कारण छन् । पहिलो त संवैधानिक प्रावधानका कारण हाम्रो नेतृत्व गरिरहेका धेरै साथीहरू उमेरका कारण उम्मेदवार बन्न नमिल्ने अवस्था छ । दोस्रो, जो साथीहरूको उमेर पुगेको छ र राजनीतिक रूपमा सचेत हुनुहुन्छ, उहाँहरू अहिले उपयुक्त ‘प्लेटफर्म’को खोजीमा हुनुहुन्छ ।
पुराना दलहरूले ‘तपाईंहरू आउनुस्’ त भनिरहेका छन्, तर ती दलभित्रको संरचना र प्रवृत्ति अझै पुरानै छ । जेनजी पुस्ताले केवल पदका लागि होइन, एउटा निश्चित मार्गचित्र र परिवर्तनको ग्यारेन्टी खोजिरहेको छ । त्यसैले हतारिएर उम्मेदवारी दिनुभन्दा सही समय र ठाउँको प्रतीक्षा गरिरहेको अवस्था हो ।

तपाईंले पुराना दलहरूमा विश्वासको कमी भएको कुरा गर्नुभयो । के नयाँ भनिएका पार्टीहरू (जस्तै रास्वपा वा अन्य) ले पनि यो पुस्तालाई समेट्न सकेका छैनन् र ?
नयाँ र पुरानो भन्ने भाष्यमात्र पर्याप्त छैन । रास्वपाजस्ता नयाँ दलहरूमा केही हदसम्म जेनजीको सहभागिता देखिएको छ, जुन सकारात्मक छ, तर हामीले हेर्ने भनेको दलको नाम होइन, उसको ‘चरित्र’ हो । हिजो हामीले जुन प्रवृत्तिलाई खत्तम भन्यौँ, त्यही प्रवृत्ति नयाँ नाममा दोहोरिनु हुँदैन ।

धेरै जेनजी साथीहरू नयाँ दलहरूतर्फ आकर्षित हुनुहुन्छ, तर त्यहाँ पनि ‘भजनमण्डली’ बन्ने खतरा छ । हामीले खोजेको फरकपन व्यवहारमा देखिनुपर्छ । नयाँ दलहरूले पनि आफूलाई साँच्चिकै सुधारेर र सुसंस्कृत बनाएर प्रस्तुत गर्नुपर्ने चुनौती छ ।

केही जेनजी अगुवा प्रत्यक्ष चुनावमा होमिनुको साटो सडकबाटै खबरदारी गर्ने कुरा गरिरहेका छन् । यो त जिम्मेवारीबाट पन्छिन खोजेकोजस्तो देखिएन र ?
यो जिम्मेवारीबाट पन्छिनु होइन, बरु लोकतन्त्रको एउटा बलियो खम्बा बन्ने प्रयास हो । आन्दोलनको एउटा लिगेसी हुन्छ । भोलि जुनसुकै सरकार बनोस्, यदि उसले आन्दोलनका मर्महरू विपरीत काम गर्‍यो भने खबरदारी गर्ने कोही त चाहिन्छ । हामी कुनै राजनीतिक दलमा आबद्ध भएर सत्ताको खेलमा लाग्नुभन्दा पनि एउटा बलियो र स्वतन्त्र प्रतिपक्षको रूपमा सडकबाट खबरदारी गरिरहने पक्षमा छौँ । नागरिक समाज जसरी हिजो राजनीतिक दलको पुच्छर बनेर विभाजित भयो, हामी त्यस्तो हुन चाहँदैनौँ । हामी एउटा ‘नन–पार्टिसन’ राजनीतिक आन्दोलनको रूपमा सक्रिय रहन्छौँ ।

अहिलेको चुनावी माहौलमा ‘हामीलाई कसैले सिद्ध्याउन खोज्दैछन्’ भन्नेजस्ता त्रासका राजनीति पनि देखिन्छन् । यसलाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ?
हो, अहिले एउटा डर र भयको राजनीति निर्माण गरिँदैछ । ‘हामी मिलेनौँ भने अरूले सिद्ध्याउँछन्’ भन्नेजस्ता भाष्य बनाइएका छन् । यो प्रतिशोध र दम्भको राजनीति हो । हिजोका क्रान्तिहरू पछि पनि ‘हिजो तैँले शासन गरिस् अब म गर्छु’ भन्ने प्रवृत्ति देखियो । हामी यसको निरन्तरता चाहँदैनौँ । हामी चाहन्छौँ कि यो निर्वाचनले प्रतिशोध होइन, राजनीतिक शुद्धीकरण गरोस् । जनतालाई त्रसित पारेर होइन, उनीहरूको आशा जगाएर मत माग्नुपर्छ । जेनजी पुस्ता यस्ता कुनै पनि डरको राजनीतिबाट टाढा रहन चाहन्छ ।

फागुन २१ को निर्वाचनका लागि तपाईंको अलायन्स वा जेनजीहरूको मतदातालाई दिने मुख्य सन्देश के हुन सक्छ त ?
हाम्रो सन्देश स्पष्ट छ– मतदान गर्दा उम्मेदवारको अनुहारमात्र होइन, उसको चरित्र र दलको आन्तरिक लोकतन्त्र हेर्नुस् । उम्मेदवारले हिजो के बाचा गरेको थियो र आज के गर्दैछ ? उसको दलभित्र प्रश्न गर्ने ठाउँ छ कि छैन ? यी कुरा महत्त्वपूर्ण छन् ।

मतदान गर्ने त्यो ५ सेकेन्डको समयले आगामी ५ वर्षको भविष्य निर्धारण गर्छ । त्यसैले, शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न सक्ने, सुध्रिएका दल र सक्षम उम्मेदवारलाई मतदान गर्न हामी आग्रह गर्दछौँ । हामी जनतालाई सुसूचित र शिक्षित बनाउने काममा निरन्तर लागिरहनेछौँ ।

नागरिक समाजको भूमिकाका विषयमा तपाईंहरू निकै कडा देखिनुभएको छ । अबको नागरिक समाज कस्तो हुनुपर्छ भन्ने तपाईंको धारणा हो ?
हिजोका दिनमा नागरिक समाज र नागरिक अगुवा भनिनेहरू कुनै न कुनै रूपमा राजनीतिक दलसँग आबद्ध देखिए । राज्य सञ्चालकहरूसँगको मिलेमतोमा उहाँहरू विभाजित हुनुभयो । अब त्यस्तो चल्दैन । अबको नागरिक समाज पूर्णतः स्वतन्त्र र विद्वत हुनुपर्छ । यसले कुनै दल विशेषको वकालत गर्ने होइन, बरु राज्यका गलत कदममाथि प्रखर प्रश्न उठाउनुपर्छ । जेनजी मुभमेन्ट अलायन्सले पनि त्यही स्वतन्त्र र निष्पक्ष नागरिक पहरेदारको भूमिका खोजेको हो ।

जो जेनजी साथीहरू अहिले विभिन्न राजनीतिक दलमा आबद्ध भएर चुनावको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूलाई तपाईंको के सल्लाह छ ?
दलमा जानु गलत होइन, तर त्यहाँ गएपछि आफ्नो विवेक बन्धक राख्नु गलत हो । पार्टीहरू अहिले ‘भजनमण्डली’ जस्ता बन्दै गएका छन् । दलभित्र आबद्ध साथीहरूले निरन्तर प्रश्न गर्न छोड्नु हुँदैन । नेतृत्वले गलत गर्दा ‘हुँदैन’ भन्न सक्ने आँट राख्नुपर्छ । नयाँ दलमा जानुभएका साथीहरूमाथि पनि शङ्का गर्ने ठाउँ देखिन थालेका छन् । ती शङ्कालाई व्यवहारले चिर्नुपर्छ । तपाईंहरू पार्टीको कार्यकर्ता मात्र होइन, परिवर्तनको संवाहक बनेर प्रस्तुत हुनुहोस् ।

के यो निर्वाचनले साँच्चिकै देशमा राजनीतिक संस्कार परिवर्तन गर्ला त ? तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?
हामी आशावादी छौँ, तर यो केवल निर्वाचनले मात्र हुँदैन । यो एउटा प्रक्रियाको सुरुवातमात्र हो । निर्वाचनले एउटा वैधानिक बाटो दिन्छ, तर संस्कार परिवर्तनका लागि त नेतृत्वको व्यवहारमै सुधार आउनुपर्छ । नयाँ दलहरूले डिफेन्सिभ हुनेभन्दा पनि सुधारात्मक हुनुपर्छ । ‘आफू हुँदा ठिक, अरू हुँदा बेठिक’ भन्ने प्रवृत्ति त्यागिनुपर्छ । यदि यो निर्वाचनले साँच्चिकै सक्षम र नयाँ सोच भएका मानिसहरूलाई नेतृत्वमा पुर्‍याउन सक्यो भनेमात्र जनतामा राजनीतिप्रति भरोसा जाग्छ ।

जेनजी आन्दोलनको मर्म र आगामी सरकारको चुनौतीका बारेमा के भन्नुहुन्छ ?
जेनजी आन्दोलनको मुख्य मर्म भनेकै सुशासन, पारदर्शिता र अवसरको समानता हो । आगामी सरकारका लागि यी नै मुख्य चुनौती हुनेछन् । अबको सरकारले केवल सत्ता जोगाउने खेलमा लाग्नुहुँदैन । आन्दोलनले जगाएको आशालाई विश्वासमा बदल्नुपर्छ । हामी सडकमा छौँ र हामी हेरिरहेका छौँ– कसले आन्दोलनको मर्म अनुसार काम गर्छ र कसले फेरि पुरानै बाटो रोज्छ ? राजनीतिक शुद्धीकरणको यो महाअभियानमा हामी कहिल्यै थाक्ने छैनौँ र कसैसँग सम्झौता पनि गर्ने छैनौँ ।