९ मंसिर २०८१, आईतवार

भूकम्पबाट पूर्ण र आंशिक गरी ६२ हजार १२ वटा घरमा क्षति : ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित


जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति भएको गृहमन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ ।

भूकम्पबाट जाजरकोट, रुकुम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा क्षति पुगेको छ । पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु अहिले पनि खुला ठाउँमा टेन्ट र पाल टाँगेर बसिरहेका छन् ।

जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र दुई सय ८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति पुगेको छ ।

स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या छ । भूकम्पबाट दुई सय आठ वटा विद्यालयमा क्षति पुगेपछि विद्यार्थी पनि समस्यामा परेका छन् । दशैँ–तिहार पर्वका कारण बिदा भएका विद्यालय अब खुल्नेछन्, तर क्षति भएका विद्यालयमा कसरी पठनपाठन गर्ने समस्या भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा झण्डै २२ हजार सात सय र रुकुम पश्चिममा १७ हजार तीन सय गरी ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् ।  भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिममा मनोविमर्शकर्ता पनि परिचालन गरेको छ ।

जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते भूकम्प गएको थियो । भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए । तीन सय ६६ जना घाइते भएका छन् ।