७ मंसिर २०८१, शुक्रबार

भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान


काठमाडौं, भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमलाई नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुभएको छ। यो सम्मान नेपाली सेना र भारतीय सेनाबीचको ऐतिहासिक र विशिष्ट परम्परालाई निरन्तरता दिने क्रममा मंसिर ६ गते एक विशेष समारोहमा प्रदान गरिएको हो।

उक्त समारोहमा नेपालका उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव, प्रधानमन्त्री श्री केपी शर्मा ओली, रक्षामन्त्री श्री मानवीर राई, मुख्य सचिव श्री एकनारायण अर्याल, नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तव तथा दुबै देशका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो।

जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणका लागि नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलको निमन्त्रणामा मंसिर ५ गते काठमाडौं आइपुग्नुभएको हो। विमानस्थलमा वहाँलाई स्वागत गर्न नेपाली सेनाका उपरथी मधुकर सिंह कार्की, नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम र भारतीय राजदूतावासका अधिकारीहरु पुगेका थिए।

मंसिर ६ गते बिहान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा माल्यार्पण गरी वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि जंगी अड्डा पुगेर वहाँलाई सम्मान गारत अर्पण गरियो। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलसँग वहाँले भेटवार्ता गरी द्विपक्षीय रक्षा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल गर्नुभयो। नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयले जनरल द्विवेदीलाई विस्तृत जानकारी प्रदान गरेको थियो।

त्यस्तै, जनरल द्विवेदीकी धर्मपत्नी श्रीमती सुनीता द्विवेदीले नेपाली सेना पत्नी संघका महिलाहरुसँग अन्तरक्रिया गर्नुभएको थियो।

यो भ्रमणले नेपाल–भारतबीचको रक्षा सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।