२३ माघ २०८१, बुधबार

रित्तो गाग्री बोकेर हर्क काठमाडौंमा, धरानका अगुवा भन्छन्- ‘स्टन्ट हो’


८ माघ, काठमाडौं। धरानमा बर्खामा पर्याप्त हुने खानेपानी हिउँद लागेपछि हाहाकार हुन्छ । वर्षाै पुरानो यो समस्या यसपालि जाडोयाममै सुरु भएको छ ।

पानीको अभाव सुरु भएपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेका छन् । मंगलबार खानेपानी मन्त्रीलाई भेटेर उनले कोशीबाट पानी ल्याउनका लागि बजेट व्यवस्था गर्न माग गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट्‍ने प्रयास भने सफल हुन सकेन ।

सप्तकोशी नदीबाट पानी ल्याएर धरानबासीलाई खुवाउने बाँचा गरेर मेयरको कुर्सीमा पुगेका साम्पाङले यो अढाई वर्षको अवधिमा चारवटा खहरे खोलाबाट पानी ल्याएका छन् । पकुवा, निसाने खर्दु, सर्दुको पानी हिउँदमा आइपुग्दैन । कोकाहा बाहेक अन्य खहरे खोला हिउँदमा सुक्छन् ।

बर्खामा उर्लिने खहरे खोला हिउँदमा सुक्दा खानेपानीको सधै अभाव हुने नागरिक अगुवा तथा प्राध्यापक राजेन्द्र शर्मा बताउँछन् । उनका अनुसार पानीको अभाव सुरु हुन थालेपछि अपजश आउने भएकाले मेयर साम्पाङ गाग्री बोकेर काठमाडौं पुगेका हुन् ।

‘सुख्खायाम सुरु भएपछि पानीको संकट पहिलेको जस्तै हो, खै तिमीले श्रमदान गरे पनि पानी खुवाउन सकेनछौ त भन्ने गाली उहाँकै थाप्लोमा आउँछ,’ उनी भन्छन्, ‘गालीबाट बच्नलाई र सरकारलाई घचघच्याउन जानु भएको हो, कोकाहाको पानी ल्याउने प्रयासको औचित्य पुष्टि हुन नसकेका कारण पनि उहाँ काठमाडौं जानुभएको हो ।’

धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलका अनुसार धरानमा दैनिक तीन करोड लिटर पानी धरानलाई चाहिन्छ । अहिले पानी पुगिरहेकै छ । सुख्खायाम सुरु भएपछि भने खानेपानीको अभाव हुन्छ ।

नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल पनि पानीका नाममा हर्क साम्पाङले पब्लिसिटीका स्टन्ट मात्रै गरेको बताउँछन् । ‘यो सबै स्टन्ट बाजी मात्रै हो,’ उनले भने, ‘श्रमदानबाट पानी ल्याउँदाको हिसाब किताब सार्वजनिक गर्नुभएन ।’

‘फेसबुकमा पानी खुवाउनु भयो, जाडो याममै पानीको अभाव सुरु भएको छ,’ उनले भने,‘ अहिले उहाँले स्टन्टबाजी बाहेक र व्यक्तिगत चर्चा बाहेक केही होइन ।

धरानमा खानेपानीको अभाव सुरु हुन थालेपछि मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेको स्थानीय मातृका नेपाल बताउँछन् । ‘धरानमा खानेपानीको अभाव सुरु भयो, अभाव भएपछि नागरिक तहबाट आवाज उठ्छ, फेस सेभिङका लागि भए पनि उहाँ रित्तो गाग्री लिएर जानु भएको हो,’ उनी भन्छन्, ‘यति भएपछि म पनि आन्दोलनमै छु भन्ने आधार बन्यो ।’

धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलका अनुसार धरानमा दैनिक तीन करोड लिटर पानी धरानलाई चाहिन्छ । अहिले पानी पुगिरहेकै छ । सुख्खायाम सुरु भएपछि भने खानेपानीको अभाव हुन्छ ।

‘धरानलाई दैनिक तीन करोड लिटर खानेपानी चाहिन्छ, भूमिगत जलस्रोतबाट डेढ करोड लिटर हाराहारी मात्रै उत्पादन हुन्छ,’ पोखरेल भन्छन्, ‘हिउँद लागेपछि अन्य स्रोत सुक्छन्, भूमिगत पानी पर्याप्त हुँदैन ।’

हिउँदमा खहरे खोला सुक्ने भएका कारण भूमिगत जलस्रोतमा मात्रै भर पर्नुपर्छ । भूमिगत पानी उत्पादनका लागि २४ सैं घण्टा मेसिन चलाउन नमिल्ने भएका कारण धरानले हिउँदमा चैतदेखि जेठसम्म चरम अभाव हुन्छ । हिउँदमा ट्याङ्करमा पानी बेच्नेको व्यापार पनि फस्टाउँछ ।

धरानमा कोशीबाट पानी ल्याउनका लागि डिपिआर तयार भएको छ । साम्पाङ मेयरमा निर्वाचित भएपछि बनेको डीपीआरमा ७ अर्ब हाराहारी खर्चको अनुमान छ । संघीय सरकारले बनाएको यो डीपीआर सार्वजनिक भएको छैन । पानी ल्याउनका संघीय सरकारले थप बजेट पनि दिएको छैन । बजेट नदिएका कारण दबाब दिन उनी काठमाडौं गएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका साम्पाङले मेयर जिते कोशीबाट खानेपानी ल्याउने प्रतिवद्धता गरेका थिए ।

निर्वाचित भएपछि उनले पानी ल्याउन श्रमदान अभियान सञ्चालन गरे । श्रमदान मार्फत करिब ४२ किलोमिटर पाइप बिछ्याएर कोकाहा खोलाबाट धरानसम्म पानी ल्याइयो । श्रमदानबाट पानी ल्याउन ७ करोड ४ लाख १८ हजार ६२२ रुपैयाँ खर्च भएको छ । यो खर्च विवरण कोकाहा खानेपानी अभियानले सार्वजनिक गरेको हो ।

खर्च विवरणमा ५० लाख २४ हजार रुपैयाँ खाजा खाना र पानीमा खर्च भएको उल्लेख छ । श्रमदानबाट पानी ल्याउँदा ज्याला बापत २७ लाख १ हजार रुपैयाँ खर्च भएको छ । पाइप खरिदमा तीन करोड ७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । कोकाहाको पानी ल्याउन भएको खर्चले डिप बोरिङ गरेको भए दैनिक ७० लाख लिटर भन्दा बढी पानी उत्पादन गर्न सकिने नागरिक अगुवाहरु बताउँछन् । निसाने र पकुवा खोलाबाट पानी ल्याउँदा भएको खर्च विवरण भने सार्वजनिक भएको छैन ।

धरानमा ३० हजार धाराहरु छन् । ‘खानेपानीकै लागि संघर्ष गरेर उहाँ नेतृत्वमा आउनु भएको मान्छे हो, मेयर भएपछि खोला खोल्सीबाट सर्दु खर्दु निसाने, पकुवादेखि कोकाह खोलासम्मको पानीलाई पाइपबाट ल्याउनु भयो, यो प्रयासले अलिकति भए पनि स्रोत आएको छ,’ नागरिक अगुवा राजेन्द्र शर्माले भने, ‘तर धरानलाई त्यो पानी पर्याप्त हुँदैन ।’एसियाली बिकास बैंकबाट सुरु भएको भूमिगत खानेपानी उत्पादनको योजनाले पनि धरानको समस्या समाधान नगरेको उनी बताउँछन् । ‘एडिबीको परियोजनाले काम गरेपनि धरानको खानेपानीको समस्या समाधान भएन, पानीको समस्या पहिलेजस्तै रह्यो,’ उनले भने, ‘हर्क साम्पाङको श्रमदान अभियानबाट आएको पानीले पनि १० प्रतिशत हाराहारी मात्रै समस्या समाधन गर्न सक्यो ।’