२१ माघ २०८२, मंगलवार

‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक


काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे ।

संग्रहको नाम उनले छोरीको नामबाट जुराएका हुन् । ‘कोभिडपछि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले भने ।

कार्यक्रममा कवि विप्लव प्रतीकले संग्रहबारे टिप्पणी गर्दै भने, ‘यी कवितालाई कम्तिमा १ सय ११ दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन् ।’

निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रुपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको बताउँदै चलचित्रमा निरन्तर देख्न चाहेको बताइन् । कार्यक्रममा दिलभुषण पाठकले संग्रहभित्र समेटिएका केही कविता वाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरे ।