“बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटमा रहेको शम्भु सुनन्दा मा.वि मा राष्ट्रिय कोदो दिवस भब्य रुपमा मनाइएको छ । “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ विविध सचेतनामूलक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (RERAS) परियोजना अन्तर्गत LI-BIRD/RERAS र GEI Asia को सहकार्यमा उक्त विद्यालयमा अन्तर–माध्यमिक विद्यालयस्तरीय “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन” विषयक वक्तृत्वकला प्रतियोगिता तथा कोदोजन्य परिकार प्रदर्शनी सम्पन्न भएको रेरास परियोजनाका लेखापाल लोकेन्द्र खड्काले जानकारी दिनुभएको छ।
रैथाने बाली संरक्षण, पोषण सुधार, जलवायु उत्थानशील कृषि प्रणालीको प्रवर्द्धन तथा स्थानीय उत्पादनको मूल्य अभिवृद्धि र बजारीकरणको सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
स्वामीकार्तिक खापर गाउँपालिका न ३ का वडा अध्यक्ष श् प्रेम कटेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुलोचना भण्डारी बुढा प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थी, कृषक तथा महिला समूह, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कृषि प्राविधिक र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको खड्काले बताउनुभयो ।
LI-BIRD को रेरास परियोजनाअन्तर्गत लेखापाल खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको भएको
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कोदो लगायतका रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, पोषण सुरक्षा, स्थानीय अर्थतन्त्रमा यसको योगदान, जलवायु परिवर्तनका चुनौती तथा आवश्यक नीतिगत सुधारका विषयमा तार्किक र प्रभावशाली विचार प्रस्तुत गरेका थिए।
कार्यक्रमको अर्को प्रमुख आकर्षण कोदोजन्य परिकार प्रदर्शनी रहेको थियो। स्थानीय कृषक तथा महिला समूहहरूले कोदोबाट तयार गरिएका ढिँडो, रोटी, सेलरोटी, खिर, लड्डु, बिस्कुट, हलुवा, पुवा, कोदोको पिठो लगायतका परिकार प्रदर्शन गरेका थिए।
प्रदर्शनीले कोदोलाई परम्परागत खाद्यान्नको सीमाभन्दा माथि उठाएर पोषणयुक्त, स्वादिष्ट तथा व्यावसायिक सम्भावना बोकेको बालीका रूपमा स्थापित गर्न महत्वपूर्ण सन्देश दिएको थियो।
वक्ताहरूले नेपालका पहाडी तथा हिमाली जिल्लामा कोदोको विशेष महत्व रहेको उल्लेख गर्दै यसमा प्रशस्त क्याल्सियम, आइरन, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट तथा अन्य आवश्यक खनिज तत्व पाइने भएकाले कुपोषण न्यूनीकरण, मधुमेह नियन्त्रण, मुटु स्वास्थ्य सुधार तथा सन्तुलित आहारका लागि कोदो अत्यन्त उपयोगी रहेको बताए। साथै, पोषणयुक्त खाद्यप्रतिको बढ्दो आकर्षणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कोदोको मागसमेत बढ्दै गएको धारणा व्यक्त गरेका थिए ।
वक्ताहरूले कोदो, चिनो, कागुनो, जुनेलो र सामा लगायतका रैथाने मिलेट बालीहरू हजारौँ वर्षदेखि नेपालको स्थानीय खाद्य प्रणालीको आधार रहँदै आएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, अनियमित वर्षा तथा विपद्को अवस्थामा समेत यी बालीले स्थिर उत्पादन दिने भएकाले दिगो तथा उत्थानशील कृषि प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
कार्यक्रममा रैथाने अन्नबालीको संरक्षण र प्रवर्द्धन कृषि उत्पादनमा मात्र सीमित नभई खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा ग्रामीण आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय अभियान भएकोमा जोड दिएको छ । साथै स्थानीय सरकारले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार पहुँच र उद्यम विकाससम्मको मूल्य शृङ्खलामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।