नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ ।
२०७५ सालमा पाँच हजार सात सय ८५ जनाले आत्महत्या गरेकोमा २०७६ सालमा छ हजार दुई सय ५२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । २०७५ सालमाभन्दा २०७६ सालमा चार सय ६७ जना बढीले आत्महत्या गरेको देखिन्छ । कोरोना महामारीको बेला २०७७ सालमा अझ बढी सात हजार एक सय ४१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
२०७८ सालमा आत्महत्या केही घटेको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार २०७८ सालमा छ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । यस्तै, २०७९ सालमा छ हजार नौ सय ९३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।
२०७५ सालमा दुई सय ७० जना किशोरीले आत्महत्या गरेकोमा २०७६ मा चार सय नौ, २०७७ मा चार सय ७०, २०७८ मा चार सय ५६ तथा २०७९ मा पाँच सय २९ जनाले आत्महत्या गरेको देखिन्छ । यो उमेर समूहमा पुरुषको सङ्ख्या भने महिलाको भन्दा कम छ । २०७५ सालमा एक सय ८९, २०७६ सालमा दुई सय ५२, २०७७ सालमा, दुई सय ९४, २०७८ सालमा दुई सय ५३ तथा २०७९ दुई सय ६६ जना पुरुषले आत्महत्या गरेका छन् ।
प्रौढ अवस्थामा भने महिलाको तुलनामा पुरुषको आत्महत्या दर बढिरहेको देखिन्छ । २०७५ सालमा दुई हजार दुई सय तीन जनाले महिलाले आत्महत्या गरेका छन् । २०७६ सालमा दुई हजार एक सय ८४, २०७७ सालमा दुई हजार चार सय ४९, २०७८ सालमा दुई हजार दुई सय ६१ तथा २०७९ सालमा दुई हजार दुई सय ५६ जना महिलाले आत्महत्या गरेका छन् ।
२०७५ सालमा तीन हजार एक सय २३ जना पुरुषले आत्महत्या गरेका छन् । २०७६ सालमा तीन हजार चार सय सात, २०७७ सालमा तीन हजार नौ सय २८, २०७८ सालमा तीन हजार आठ सय ६० तथा २०७९ सालमा तीन हजार नौ सय ४२ जना पुरुषले आत्महत्या गरेका छन् ।
किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरी प्रवक्ता कुबेर कडायत बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘प्रेममा असफलता, पढाइमा असफलता, आर्थिक कारण, घरमा गाली गरेको, घरायसी हिंसाका कारण पनि युवा उमेरका महिलाको सङ्ख्या बढी छ ।’
यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुनसक्ने प्रहरी प्रवक्ता कडायतको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘आर्थिक असफलता तथा व्यावसायिक असफलता अलि धेरै देखिन्छ । यसमा डिप्रेसन पनि जोडिने भइहाल्यो ।’
मनोचिकित्सक डा. लता गौतम भने आत्महत्याको प्रयास गर्नेमा महिला धेरै र आत्महत्या गर्नेमा पुरुष धेरै रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पुरुषहरुले कम्प्लिट सुसाइड गर्नुहुन्छ जुनसुकै उमेरको भए पनि । तर, महिलाहरुले प्रयास धेरै गर्नुहुन्छ । र पछि डाक्टरकोमा आउने गरेको घटना धेरै छन् ।’ महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा गौतमको तर्क छ ।
देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ । सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया मनोरोग अर्थात् डिप्रेसन नै कारक भएको डा. गौतम बताउनुहुन्छ । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिने मनोचिकित्सक डा. गौतमले बताउनुभयो ।