काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भदौ २० देखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो।
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो ।
‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौं। अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ।