२६ भाद्र २०८३, शुक्रबार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा  वर्षा भइरहेको छ।

वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

‘आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ,’ कार्यालय प्रमुख साहले भने।