२६ भाद्र २०८३, शुक्रबार

मृतक सदस्य देवाको परिवारलाई लघुवित्तद्वारा २ लाख ५४ हजार बढी बिमा रकम हस्तान्तरण ।


सर्मिला रोकाया

बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्य देवा दमाईको परिवारलाई २ लाख ५४ हजार बढी बिमा सुविधा हस्तान्तरण गरेको छ । जनज्योति महिला विकास केन्द्रकी सदस्य स्वर्गीय देवाको परिवारलाई २ लाख ५४ हजार ९ सय ९२ रुपैयाँ बराबरको बिमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
लघुवित्त संस्थाका अनुसार मृतकको २ लाख २५ हजार रुपैयाँ ऋण मिनाहा गरिएको छ भने २९ हजार ९ सय ९२ रुपैयाँ किरिया खर्चबापत उपलब्ध गराइएको हो । संस्थाले लघुवित्तको नीति तथा नियमअनुसार स्वर्गीय देवाको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको कोल्टी शाखा प्रमुख तारादेवी शाहीले जानकारी दिनुभयो ।
उहाँले शोकमा रहेको परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित बिमा दाबी रकम प्रदान गरिएको बताउनुभयो ।

शाखा प्रमुख शाहीले मातृभूमि लघुवित्त नेपाल सरकारबाट मान्यता प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था रहेको बताउँदै हाल देशभर २ सय ९ वटा शाखामार्फत सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले लघुवित्तबारे फैलिएका भ्रममा नपरी संस्थाको नीति, सेवा र उद्देश्यबारे आफैं बुझेर बचत गर्ने बानीको विकास गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
उहाँका अनुसार लघुवित्तको मुख्य उद्देश्य लक्षित समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्नु, थोरै–थोरै रकम बचत गर्ने बानीको विकास गर्नु र आवश्यकताअनुसार वित्तीय पहुँच विस्तार गर्नु हो । ठूला बैंकहरूले टेबलबाट सेवा दिने भए पनि लघुवित्तले समुदायमै पुगेर सदस्यलाई बचत, वित्तीय अनुशासन तथा आर्थिक गतिविधिमा जोड्ने काम गर्दै आएको उहाँको भनाइ छ ।
“आज गरेको सानो बचतले भविष्यमा हामीलाई सहारा दिन्छ,” शाखा प्रमुख शाहीले भन्नुभयो । स्थानीयलाई व्यवसायमुखी बनाउने उद्देश्यले संस्थाले बिना धितो ५० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको बताउँदै उहाँले प्राप्त कर्जाको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी बुढीनन्दा नगरपालिकाका एमआईएस अपरेटर धर्मराज पाध्यायले समूहका माध्यमबाट बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यको मृत्यु भएको अवस्थामा लघुवित्त संस्थाले कर्जा मिनाहा गर्नुका साथै बिमा सुविधामार्फत परिवारलाई थप आर्थिक सहयोग गर्ने गरेको बताउनुभयो ।
अन्य वित्तीय संस्थाबाट लिएको ऋण मृत्यु भएपछि परिवारले नै तिर्नुपर्ने अवस्था हुनसक्ने भए पनि लघुवित्त संस्थाले लक्षित वर्गका सदस्यको कर्जा मिनाहा गरी थप बिमा रकमसमेत उपलब्ध गराउने भएकाले यस्तो सुविधाको सही सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
लघुवित्तप्रति देखिएको नकारात्मक धारणा हटाउँदै नियमित बचत गर्ने, समयमै किस्ता बुझाउने र वित्तीय अनुशासन कायम गर्ने विषयलाई स्थानीय तहले समेत सकारात्मक रूपमा प्रोत्साहन गर्नुपर्ने पाध्यायले बताउनुभयो ।
लघुवित्त संस्थाको बिमा सुविधाका कारण स्वर्गीय देवाको परिवारलाई तत्काल आर्थिक राहत पुगेको भन्दै उहाँले बुढीनन्दा नगरपालिकाको तर्फबाट संस्थालाई धन्यवादसमेत व्यक्त गर्नुभयो । लघुवित्त संस्था नभएको अवस्थामा लक्षित वर्गको परिवारलाई स्थानीय तहले नै थप सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड कोल्टी शाखा प्रमुख तारादेवी शाहीसहित कर्मचारी, बुढीनन्दा नगरपालिका–२ का वडा सदस्य टुल्ली सार्की, एमआईएस अपरेटर धर्मराज पाध्याय, जनज्योति महिला विकास केन्द्रका सदस्य, स्थानीय तथा पत्रकारको सहभागिता रहेको थियो ।