५ मंसिर २०८३, शुक्रबार Friday, November 20, 2026

बाजुरामा बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम लागू हुँदै ।


सर्मिला रोकाया

बाजुराको परम्परागत भेडा तथा बाख्रापालन व्यवसायलाई व्यावसायिक, व्यवस्थित र किसानको आम्दानीसँग जोड्ने उद्देश्यले जिल्लाका चार स्थानीय तहमा बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री माननीय नरेश कुमार शाहीको अवधारणा, विशेष पहल तथा विगत तिन वर्षदेखिको निरन्तर प्रयासपछि बाजुरामा उक्त कार्यक्रम लागू हुने भएको हो । उहाँले भेडा बाख्राबाट उत्पादन हुने ऊन, मासु, मल विक्रीका लागि बजार सहितलाई मध्यनजर गर्दै उक्त कार्यक्रमको अवधारणा अघि सार्नुभएको हो ।
उहाँले अभावको नभएर सम्भावनाको जिल्लाको रुपमा बाजुरालाई चिनाउने प्रयास तथा भेडा बाख्राबाट आत्मनिर्भर बनाउने प्रयास गर्नुभएको हो । सोही अवधारणा अनुसार स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकालाई समेटेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
हिजो जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा कार्यक्रमको उदेश्य र परिचयात्मक कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकामा गरिएको हो ।
कार्यक्रममा पुर्वमन्त्री शाही, एसियाली विकास बैंकका आर्नोड हेडकुक, अरुणा राणा र सन्जय कक्षपति, नचभाा का प्रतिनिधि रामचन्द्र बस्ताकोटी, शुमन मेहेर क्षेष्ठ, बसन्त थापा, टीडीएफ का प्रतिनिधि राजेसश कुमार मोछिमोया,सुवाशराज पन्त, पश्मिना संघका अध्यक्ष धन प्रसाद लामिछाने, एफ,ए ओ नेपालका प्रतिनिधि डा. साकार शिवाकोटी र मुक्ति क्षेत्री, कृषि वन तथा पर्यावरण मन्त्रालय लालकुमार क्षेष्ठ, यूएनडीपी शिव कुमार क्षेष्ठ, हेफर इन्टरनेसनल का राजेन्द्र दाहल र प्रकास केसी, इलरी नेपालका एडविन, कृषि विकास बैंक लिमिटेडका हिमलाल क्षेष्ठ, मिट हब का शुसान्त बिक्रम थापा, माछा तथा मासु ब्यबसायी दिपक चागाई, स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकाया लगायतको सहभागिता रहेको थियो ।

लामो समयदेखि बाजुराका किसानले परम्परागत रूपमा गर्दै आएको भेडा तथा बाख्रापालन व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रमअन्तर्गत भेडापालन गर्न इच्छुक तथा यस व्यवसायमा संलग्न किसानलाई आर्थिक अनुदान उपलब्ध गराउने योजना रहेको छ ।

त्यसैगरी किसानले उत्पादन गरेको ऊन खरिद गर्ने, भेडाको मासु संकलन तथा बजारीकरण गर्ने र भेडाको मलको उपयोग तथा बिक्रीका लागि समेत व्यवस्था मिलाइनेछ । विशेषगरी भेडापालक किसानले उत्पादन गरेको ऊन र मासु बिक्री गर्न बजार खोज्दै भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी उत्पादनको खरिद तथा बजारीकरण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । यसले किसानलाई उत्पादनमा प्रोत्साहित गर्नुका साथै पशुपालन व्यवसायलाई नियमित आम्दानीको स्रोतका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पशु स्वास्थ्य उपचार, रोग नियन्त्रण, पशु प्राविधिक सेवा तथा आवश्यक परामर्शको व्यवस्था पनि समेटिनेछ । त्यस्तै, भेडा तथा बाख्राको मृत्युबाट किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले पशुधन बीमाको व्यवस्था गरिने योजना रहेको छ ।
बाजुरा भेडापालनका लागि उपयुक्त चरन क्षेत्र, स्थानीय अनुभव र परम्परागत सीप भएको जिल्ला हो । यहाँका धेरै परिवार पुस्तौँदेखि भेडापालन व्यवसायमा निर्भर रहँदै आएका छन् । तर उचित बजार, पशु स्वास्थ्य सेवा, लगानी र बीमाको अभावमा किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।
यस्तो अवस्थामा सञ्चालन हुन लागेको बृहत् कार्यक्रमले किसानलाई उत्पादनदेखि बजारीकरणसम्म जोड्ने अपेक्षा गरिएको छ । कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए भेडा तथा बाख्रापालन व्यवसायबाट स्थानीयस्तरमै रोजगारी सिर्जना, किसानको आयआर्जन वृद्धि र जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ ।
चार वर्षदेखिको निरन्तर पहलपछि बाजुरामा भित्रिन लागेको यो कार्यक्रम केवल पशुपालन प्रवद्र्धनमा मात्र सीमित नभई परम्परागत पशुपालनलाई व्यावसायिक अर्थतन्त्रसँग जोड्ने अवसरका रूपमा हेरिएको छ । तर करिब पाँच अर्ब रुपैयाँको लगानी, किसानलाई अनुदान, उत्पादनको खरिद सुनिश्चितता र बीमा व्यवस्थासहितका योजना व्यवहारमै कार्यान्वयन हुन सके मात्रै यसले अपेक्षित परिणाम दिन सक्नेछ ।
बाजुराको पर्यटकिय क्षेत्र लामासिम फर्म टु फेसन सो पछि बाजुरा पुग्नुभएका पुर्व मन्त्री शाहीले बाजुरामा बृहत् भेडा तथा बाख्रापालन परियोजना लागु हुने बताउनुभएको छ ।
बाजुरामा एसियाली विकास बैंक (ADB)सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको मिसन टोली पुगेको छ । टोलीले बाजुरामा मूल्य शृङ्खला तथा जलवायु अनुकूलनमा आधारित बृहत् भेडा तथा बाख्रापालन परियोजना सञ्चालनको गर्ने भएको छ ।
एसियाली विकास बैंकको नेतृत्वमा आएको टोलीमा संघीय तथा प्रदेश सरकारका सम्बन्धित मन्त्रालय,FAO, UNDP, HEIFER, ILRI लगायतका निकाय तथा ऊन र मासु व्यवसायीहरूको सहभागिता रहेको छ ।
परियोजनामार्फत भेडा तथा बाख्रापालनलाई व्यावसायिक बनाउँदै गरिबी न्यूनीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । टोलीको नेतृत्व एसियाली विकास बैंकका आर्नोड हेडकुकले गरिरहनुभएको छ ।
आज कुण्डा क्षेत्रका चार पालिकाको संयुक्त रुपमा कार्यक्रमको उदेश्य र परिचयात्मक कार्यक्रम बुढीनन्दा नगरपालिकामा गरीएको हो । कार्यक्रममा चारवटै स्थानीय तहका सरोकारवाला निकायका प्रतिनिधि तथा भेडाबाख्रापालन व्यवसायमा संलग्न कृषकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी कृषकहरूले भेडाबाख्रापालनलाई आफ्नो मुख्य जीविकोपार्जनको आधार बनाउँदै आए पनि उत्पादित वस्तुले उचित बजार नपाउँदा समस्या भोग्नुपरेको गुनासो गरेका छन् । कृषकहरूले भेडाबाट उत्पादन हुने ऊन, मासु तथा मलले सहज रूपमा बजार नपाउँदा मेहनतअनुसार आम्दानी गर्न नसकेको बताएका हुन् ।
भेडाबाख्रापालन नै आफ्नो मुख्य आयस्रोत भए पनि उत्पादित वस्तुको बजारीकरण नहुँदा व्यवसायलाई निरन्तरता दिन कठिनाइ भइरहेको अवस्था रहेको उल्लेख गर्दै अव यो कार्यक्रम लागु हुने भए पछि खुशी व्यक्त गरेका छन् ।
कृषकहरूले उत्पादनको उचित मूल्य र बजार सुनिश्चित हुने वातावरण निर्माण गर्न यो कार्यक्रमले ठुलो सहयोग पुग्ने अपेक्षा राखेका हुन् ।

ताजा समाचार