५ मंसिर २०८३, शुक्रबार Friday, November 20, 2026

बाटोमै प्रसुती हुन बाध्य दुर्गमका महिला ।।


सर्मिला राेकाया
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी एक गर्भवती महिलाले अस्पताल पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउनुपरेको छ । स्वास्थ्यकर्मीले मंसिर ९ गतेका लागि प्रसुतीको समय दिइएको भए पनि समय अगावै कोल्टी आउने क्रममा स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटकी सुमित्रा शाहीले बाटोमै शिशुलाई जन्म दिनुभएको हो ।
शाहीले गाउँपालिकाको वडा नं ४ स्थित तितेपाती फर्म नजिकै सडकमा बच्चा जन्माउनुभएको आफन्त भगिरथ शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी व्यथा नलागे पनि कोल्टीमा बच्चा जन्माउने भनेर केही समय अगाबै आउने क्रममा बाटोमै प्रसूति हुन पुग्नुभएको हो । हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्त शाहीले बताउनुभयो ।
उहाँले यो घटना कुनै सामान्य घटना वा संयोग मात्र नभएर दुर्गम भूगोलमा आधारभूत स्वास्थ्य सेवा र यातायातको सहज पहुँच नहुँदा गर्भवती महिलाले भोग्नुपरेको बाध्यताको एउटा उदाहरण रहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिन नसकेको एक मात्र स्थानीय तहका रूपमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका नागरिकले वर्षौंदेखि यातायात र स्वास्थ्य सेवामा कठिनाइ भोग्दै आएका उहाँले बताउनुभयो । यहाँका नागरिकलाई सामान्य उपचारदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि समेत कोल्टी वा अन्य स्वास्थ्य संस्थासम्म पुग्न निकै सास्ती छ ।
कर्णाली नदीमा फेरीमार्फत यातायातका साधन सञ्चालन गरेर आवतजावत हुँदै आएको भए पनि वर्षायाममा नदीमा पानीको बहाव बढेको भन्दै फेरी सञ्चालनमा नरहेको आफन्त शाहीले बताउनुभयो । त्यसमाथि गाउँपालिकामा रहेको एम्बुलेन्ससमेत बिग्रिएको अवस्थामा रहेको उहाँको भनाइ छ ।
समयमै अस्पताल पु¥याउनुपर्ने गर्भवती महिलाले समेत बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आउनुले स्वामीकार्तिकको स्वास्थ्य सेवा र यातायात पहुँचको वास्तविक चित्र उजागर गरेको छ ।

आमा र नवजात शिशुको अवस्था सामान्य रहनु सुखद पक्ष भए पनि प्रश्न गम्भीर रहेको उहाँले बताउनुभयो । सुत्केरी व्यथा लागेकी महिलालाई सुरक्षित रूपमा अस्पताल पु¥याउने व्यवस्था कहिले हुन्छ ? आपत्कालीन अवस्थामा एम्बुलेन्स र नियमित यातायातको सुनिश्चितता कहिले गरिन्छ भनेर प्रश्न समेत गनुभएको छ ।
उहाँले सडक सञ्जाल, भरपर्दो यातायात र सहज स्वास्थ्य सेवा नागरिकका आधारभूत आवश्यकता हुन् । तर दुर्गमका नागरिकले अझै पनि जीवन र मृत्युको दोसाँधमा यात्रा गर्नुपर्ने अवस्था कहिलेसम्म रहिरहने उहाँले भन्नुभएको छ ।

ताजा समाचार