सर्मिला राेकाया
बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारीअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा भएको कार्यक्रममा स्थानीय नागरिकले लागुऔषध नियन्त्रण, प्रहरी जनशक्ति अभाव, सार्वजनिक सेवा प्रवाह र प्रहरी–नागरिक सम्बन्धलगायत विषयमा प्रश्न उठाएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो। इलाका प्रहरी कार्यालय बुढीनन्दाका अनुसार प्रहरी र नागरिकबीच बढ्दै गएको दूरी घटाउँदै स्थानीयको आवश्यकता र गुनासो बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेस बुढीनन्दा नगर कार्यसमिति सभापति छक्क मल्लले बाजुरामा लागुऔषधको समस्या व्यापक बन्दै गएको भन्दै नियन्त्रण तथा न्यूनीकरणमा प्रहरीको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो। लागुऔषध बिक्री वितरण र सेवन हुने स्थानबारे प्रहरी जानकार हुँदाहुँदै पनि अपेक्षित नियन्त्रण हुन नसकेको उहाँको गुनासो थियो।
मल्लले जिल्लामा प्रशासनिक कार्यालय, विमानस्थललगायत विभिन्न क्षेत्रको सुरक्षा जिम्मेवारीसमेत प्रहरीले सम्हाल्नुपर्ने अवस्था रहेकाले जनशक्ति अभाव देखिएको बताउँदै दरबन्दीअनुसार प्रहरी व्यवस्थापन गर्न माग गर्नुभयो। विगतमा प्रहरीको सक्रियता र प्रभावकारिता देखिने गरेको स्मरण गर्दै उहाँले अहिले प्रहरीको उपस्थिति र कार्यशैलीबारे समेत प्रश्न उठाउनुभयो।
त्यस्तै, गैरसरकारी संस्था (आइनजिओ) फोकल पर्सन विर्जन शाहीले सार्वजनिक मुद्दा दर्ताका लागि अझै सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीयस्तरमै सहज सेवा उपलब्ध गराउन माग गर्नुभयो। प्रहरीको पोसाक र हतियार देखेर नागरिक त्रसित हुने अवस्था नभई प्रहरीप्रति विश्वास र अपनत्व बढ्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।
प्रहरीसँग आधुनिक हतियार भए पनि अपराध र हिंसा न्यूनीकरणमा चुनौती कायम रहेकाले अब बल प्रयोगभन्दा नागरिकमुखी व्यवहार, समुदायको आवश्यकता बुझ्ने क्षमता र आपसी समन्वयमा जोड दिनुपर्ने पत्रकार सर्पलाल गिरीले बताउनुभयो। प्रहरीको भूमिका र जिम्मेवारीबारे समुदायलाई समेत बुझाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
बुढीनन्दा नगरपालिका–५ का वडाध्यक्ष छत्रबहादुर मल्लले नागरिक र प्रहरीबीच समन्वय तथा सहकार्य कमजोर हुँदै गएको अवस्थामा नागरिक सुनुवाइ कार्यक्रमले संवादको अवसर सिर्जना गरेको बताउनुभयो। नागरिकले आफ्ना अधिकारसँगै कर्तव्य पनि बुझ्नुपर्ने उल्लेख गर्दै समाजमा हुने गलत गतिविधि नियन्त्रणका लागि नागरिक आफैँ पनि सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।
यस्तै, वडा नम्बर ६ का वडाध्यक्ष गजेन्द्र शाहीले सार्वजनिक प्रशासनलाई चुस्त, पारदर्शी र जनमुखी बनाउन सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताउनुभयो। समस्या न्यूनीकरणका लागि एकअर्कालाई दोषारोपण गर्नुभन्दा जनप्रतिनिधि, प्रहरी र नागरिकले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख रामबहादुर बोहराले बजारमा भइरहेको मूल्यवृद्धि, यातायात व्यवस्थापन र अनुगमनको विषय पनि नागरिक सुरक्षासँग जोडिएको बताउनुभयो। बजारमा मूल्यवृद्धि भइरहे पनि प्रभावकारी अनुगमन हुन नसकेको र सवारीसाधनको चाप बढे पनि आवश्यक सहजीकरण हुन नसकेको उहाँको भनाइ थियो। हरेक समस्याको दोष प्रहरीलाई मात्र दिनुभन्दा सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उहाँले गलतलाई गलत र सहीलाई सही भन्न प्रहरीलाई नागरिकको साथ आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले पछिल्लो समय बाजुराका युवाहरू लागुऔषध तथा विभिन्न कुलतमा फस्ने क्रम बढ्दै गएको बताउनुभयो। यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएर काम सुरु गरिए पनि अपेक्षित प्रभावकारिता हासिल हुन नसकेको भन्दै उहाँले प्रहरीको एकल प्रयासले मात्र समस्या समाधान सम्भव नहुने स्पष्ट पार्नुभयो।
कुण्डा क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताका दृष्टिले महत्वपूर्ण रहे पनि पछिल्लो समय कोल्टी क्षेत्रमा लागुऔषधको ओसारपसार तथा सेवन हुने गरेको सुनिन थालेको उहाँले बताउनुभयो। यस्ता गतिविधि नियन्त्रणका लागि हल्ला वा अनुमानका आधारमा नभई तथ्य र प्रमाणसहित सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गर्दै उहाँले समुदायको सहयोगले नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो। डीएसपी बोहराले ट्राफिक नियम पालना गर्न र सार्वजनिक सुरक्षा कायम राख्न सबैलाई आग्रह गर्नुभयो।
सार्वजनिक मुद्दासम्बन्धी विषयमा समेत नागरिकको चासो र गुनासो आउने गरेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो। इलाका प्रहरी कार्यालय बुढीनन्दामा हाल २३ जना प्रहरी कर्मचारी मात्रै कार्यरत रहेको जानकारी दिँदै उहाँले आवश्यक जनशक्ति थप गरी दरबन्दीअनुसार प्रहरी व्यवस्थापनका लागि आफूले पहल गरिरहेको बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यापारी–व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो। नागरिकले उठाएका प्रश्न, गुनासा र सुझावले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।