५ मंसिर २०८३, शुक्रबार Friday, November 20, 2026

आई एन एफ नेपालको ७४ औँ सेवा वर्ष ः अपाङ्गता भएकी मरुको परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सहयोग ।


सर्मिला रोकाया
बाजुराको बुढीनन्दा नगरपालिका–३ लौठारुखकी मरु लोहारको परिवारलाई आई एन एफ नेपालले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ । संस्थाले ७४औँ सेवा वर्षको अवसरमा संस्थाले आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेको लोहारको परिवारलाई एक बोरा चामल, एक केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याङ्केट सहयोग गरेको हो ।

अपाङ्गता भएकी ५० वर्षकी मरुको परिवारमा ५ जना सदस्य रहे पनि आर्थिक अवस्था कमजोर हुँदा दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएको छ । हाल उहाँको परिवार आफन्तको घरमा बस्दै आउनुभएको छ । यस्तो अवस्थामा प्राप्त खाद्यान्न तथा न्यानो कपडाको सहयोगले परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

आई एन एफ नेपालले आफ्नो ७४औँ सेवा वर्षको अवसरमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायमा आधारित सहयोगलाई प्राथमिकता दिँदै आएको ग्रिन परियोजना अधिकृत रुक्साल पडितले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाजुराका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा विभिन्न परियोजनामार्फत विपन्न तथा जोखिममा रहेका समुदायको उत्थान र दिगो जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको छ ।

संस्थाले बुढीनन्दा नगरपालिकामा लैङ्गिक उत्थानशीलता, प्रकृतिका लागि वातावरण तथा आर्थिक दिगोपना(GREEN) परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा मानवीय पूर्वानुमानमा आधारित अग्रिम कार्य विस्तार (SHAF) परियोजना तथा हिमाली गाउँपालिकामा उत्थानशील, समावेशी तथा दिगो विकास र सशक्तीकरण (RISE) परियोजना सञ्चालनमा रहेका छन् ।


यी परियोजनामार्फत जलवायु उत्थानशील कृषि, उद्यमशीलता विकास, लैङ्गिक समावेशिता तथा समानताका लागि व्यवहार परिवर्तन, विपद् जोखिम रोकथाम तथा न्यूनीकरण, खडेरी जोखिम न्यूनीकरण र पूर्वानुमानमा आधारित अग्रिम सहयोगलगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।

जलवायु परिवर्तन र विपद्का जोखिम न्यूनीकरणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने लक्ष्य राखेका यी परियोजनाले विशेषगरी महिला, विपन्न तथा जोखिममा रहेका समुदायको क्षमता विकास र जीविकोपार्जनमा जोड दिँदै आएका छन् ।

संस्थाको ७४ औँ सेवा वर्षको अवसरमा गरिएको उक्त सहयोगले कठिन परिस्थितिमा गुज्रिरहेको एक परिवारलाई राहत दिनुका साथै समुदायमा मानवीय सेवा र सामाजिक सहयोगको महत्त्वलाई समेत उजागर गरेको छ ।

ताजा समाचार