५ मंसिर २०८३, शुक्रबार Friday, November 20, 2026

कोल्टी बजारबाट २ सय लिटर अवैध मदिरा बरामद गरी नष्ट ।


सर्मिला रोकाया
बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ कोल्टी बजार क्षेत्रबाट प्रहरीले २ सय लिटर अवैध मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी नायव निरीक्षक भागिरथ सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा उक्त मदिरा फेला पारी बरामद गरेको हो ।
प्रहरी टोलीले कोल्टी बजारमा गस्ती गर्ने क्रममा १ सय लिटर तयारी मदिरा र मदिरा उत्पादन गर्न प्रयोग हुने १ सय लिटर कच्चा पदार्थ गरी जम्मा २ सय लिटर बरामद गरेको जनाएको छ ।
आज दिउँसो ३ बजे बरामद गरिएको मदिरा तथा कच्चा पदार्थ बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, स्थानीयवासी, व्यापारी तथा पत्रकारको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी नायव निरीक्षक भागिरथ सिंह धामीले जानकारी दिनुभएको छ ।
उहाँले कोल्टी बजार क्षेत्रमा अवैध रूपमा मदिराको उत्पादन तथा बिक्री वितरण हुने गतिविधिलाई निरुत्साहित गर्ने र यस्ता कार्य नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले नियमित गस्ती तथा निगरानी गर्दै आएको छ । सोही क्रममा प्रहरी टोलीले मदिरा बरामद गरेको हो ।
अवैध मदिराको उत्पादन, बिक्री वितरण तथा सेवनका कारण समाजमा विभिन्न किसिमका सामाजिक विकृति, घरेलु हिंसा, झैझगडा तथा शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भएकाले यसको नियन्त्रणमा प्रहरीसँगै स्थानीय समुदाय र सरोकारवाला निकायको समेत महत्त्वपूर्ण भूमिका रहने देखिन्छ ।
यसका लागि स्थानीय व्यापारी, नागरिक तथा सरोकारवाला सबैले अवैध मदिराको उत्पादन र बिक्री वितरण रोक्न सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । प्रहरीले बजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ ।

ताजा समाचार