सर्मिला रोकाया
बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा कर्णाली पादुका त्रिवेणी धाम ज्ञान–विज्ञान धार्मिक महोत्सव सुरु भएको छ । वैदिक सनातन गुरुकुल विद्यापीठको सर्वाङ्गीण विकास, धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि र पादुका त्रिवेणी धामको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबारदेखि धार्मिक महोत्सव सुरु गरिएको हो ।
वैदिक सनातन गुरुकुल विद्यापीठको प्राङ्गणमा आयोजित महोत्सवको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्घाटन गर्नुभएको हो । धार्मिक महोत्सव आगामी १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कर्णाली पादुका त्रिवेणी धाम ज्ञान–विज्ञान धार्मिक प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शाही प्रमुख अतिथि समेत रहनु भएभएको थियो भने उपाध्यक्ष मरुकला कार्यक्रममा वडा नं. १ का अध्यक्ष गणेशराज गिरी, वडा नं. २ का अध्यक्ष धनवीर सार्की विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, जग्गादाता, स्थानीयवासी तथा धर्मानुरागीहरूको उपस्थिति रहेको थियो ।
महोत्सवमार्फत वैदिक ज्ञान, अध्यात्म, धर्मदर्शन, संस्कार र सनातन संस्कृतिबारे ज्ञान प्रदान गर्नुका साथै धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा बोल्दै गुरु गंगाप्रसाद उपाध्यायले पादुका त्रिवेणी धामलाई पवित्र धार्मिक स्थलका रूपमा विकास गरी पितृहरूको मोक्ष, जनमानसमा भक्तिभाव जागरण, संस्कारयुक्त शिक्षा र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँका अनुसार गुरुकुल स्थापना, देउरामा वृद्धाश्रम निर्माण र पादुकामा अनाथालय स्थापना गर्ने तीनवटा महत्त्वाकाङ्क्षी लक्ष्यसहित अभियान अघि बढाइएको भए पनि अपेक्षाअनुसार काम गर्न नसकिएको बताउँदै उहाँले यसको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आचार्य जगतप्रसाद उपाध्यायले कर्णाली नदीको धार्मिक तथा पौराणिक महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले स्कन्द पुराणको मानसखण्डमा कर्णालीको महिमा उल्लेख रहेको चर्चा गर्दै कर्णाली नदीलाई पितृकार्य तथा श्राद्धका दृष्टिले महत्त्वपूर्ण तीर्थस्थलका रूपमा व्याख्या गर्नुभयो । हरिद्वार, काशी र गयामा मात्र पितृकार्य गर्दा मुक्ति प्राप्त हुन्छ भन्ने मान्यता भ्रमपूर्ण रहेको उल्लेख गर्दै उहाँले कर्णालीको धार्मिक महत्त्व बुझ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, महोत्सव उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले २०७४ सालमा स्थापना भएको गुरुकुल विद्यापीठको उद्देश्य, महत्त्व र आवश्यकताबारे समाजमा पर्याप्त जानकारी पु¥याउनुपर्ने बताउनुभयो । धर्म र संस्कृतिका नाममा मौलिक परम्परा तथा पुर्खाले स्थापित गरेका मूल्य–मान्यतामा विकृति र विसङ्गति बढ्दै गएको अवस्थामा त्यसलाई सही दिशामा अघि बढाउन गुरुकुलले अनुकरणीय भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।
गुरुकुलको विकास कुनै व्यक्ति विशेषको सम्पत्ति आर्जनका लागि नभई समग्र समाजको हितका लागि भएकाले सबैको सहभागिता र सहयोग आवश्यक रहेको अध्यक्ष शाहीले बताउनुभयो । पादुका त्रिवेणी धामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै स्थानीय आर्थिक उन्नति र समृद्धिसँग जोड्न गाउँपालिका तथा व्यक्तिगत तर्फबाट समेत निरन्तर सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
महोत्सवका प्रमुख वाचक तथा अन्तर्राष्ट्रिय भूषण आचार्य नारायणप्रसाद उपाध्यायले कर्णाली नदीको उद्गमस्थलसम्म पैदल यात्रा गरेको अनुभव सुनाउँदै यस क्षेत्रको धार्मिक तथा प्राकृतिक महत्त्वबारे चर्चा गर्नुभयो । राक्षसताल, मानसरोवर, मन्दाकिनी नदी, कैलाश पर्वत, बुढीनन्दा, बडीमालिका, छायानाथ र रारालगायतका धार्मिक क्षेत्रसँग कर्णालीको आध्यात्मिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले त्रिवेणी धाममा गंगा आरती सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले पादुका त्रिवेणी धाममा विशाल धर्मशाला निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै यस अभियानमा स्थानीय सरकारको सहयोग प्राप्त भए अझ प्रभावकारी हुने र सहयोग नपाए पनि भक्तियोग फाउन्डेसनमार्फत आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टले पादुका त्रिवेणी धाम तथा कर्णालीको दोभान र संगमस्थल जगन्नाथ गाउँपालिकाको मात्र नभई बुढीनन्दा, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकासमेतको साझा धार्मिक सम्पदा भएको बताउनुभयो । उहाँले कर्णालीलाई केवल मसानघाटका रूपमा नभई पुस्तौँदेखि पितृहरूको अन्तिम संस्कारसँग जोडिएको पवित्र तीर्थस्थलका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो। धामको धार्मिक महिमा, महत्त्व र विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।
सरस्वती माध्यमिक विद्यालयका शिक्षक हर्षनारायण उपाध्यायले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले कर्णाली पादुका त्रिवेणी धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै यसको संरक्षण, प्रवद्र्धन र विकासमा सामूहिक पहल आवश्यक रहेको बताएका छन् ।
महोत्सवमा श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमीहरूलाई सहभागी भई ज्ञान, भक्ति र पुण्यलाभ प्राप्त गर्न आयोजकले आग्रह गरेको छ ।