७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

१३ अर्ब ३१ करोड डलर पुग्यो विदेशी विनिमयको सञ्चिति


विदेशी विनिमयको सञ्चिति लगातार बढेको छ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो।  पाँच महिनाको अवधिमा १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रूपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो। २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड डलर पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड रूपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रूपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई दुई खर्ब १० अर्ब ७९ करोड रूपैयाँ कायम भएको छ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात धान्न पुग्नेछ। त्यस्तै वस्तु र सेवा समेतको आयात भने ११.८ महिनाको धान्ने देखिएको छ।

ताजा समाचार