७ मंसिर २०८१, शुक्रबार

पोखरा-मुग्लिन सडक खण्ड : चिनिया ठेकेदारले तोकिएको समयमा कामै नगर्दा, मन्त्री ज्वालाद्वारा ठेक्का तोड्ने चेतावनी


पोखरा । विभिन्न बहाना बनाउँदै चिनियाँ ठेकेदारले अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो । सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत काम भएको छ । २०८१ भदौ १२ मा सक्नुपर्ने पश्चिम खण्डमा अहिलेसम्म १ किलोमिटर पनि पिच भएको छैन । कोरोना र विभिन्न सङ्कट देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको छ ।

कम्पनीले २०२५ डिसेम्बर अन्तिमसम्म निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । यही फेब्रुअरी भित्र ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने सहमति छ । कम्पनीले दिएको टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने चेतावनी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको छ ।

GCI COLLEGE

अहिले भने कामको रफ्तार बढाएको उनले बताए । ‘म अघिल्लो पटक आउँदा कामको गति नै थिएन । अहिले केही रफ्तार बढेको छ । इक्युपमेण्ट र कामदार थपेको रहेछ,’ अनुगमनका क्रममा उनले भने, ‘कुन समयमा कति काम सक्नुपर्छ भनेर हामीले टाइमकार्ड दिएका छौँ । तोकिएको समयमा तोकिएको काम नभए विकल्प खोज्छौँ ।’ निर्माण कम्पनीले खाने पानीका पाइप र बिजुलीको पोलका कारण अवरोध भइरहेको बताएको छ । यो खण्डमा पर्ने १ सय २० वटा कल्भर्ट मध्ये ३८ वटा बनाइसकेको छ भने १२ वटा पुलमा १० वटा निर्माणाधीन छ । निर्माण कम्पनीले दैनिक रिपोर्ट कार्ड बुझाउने प्रतिबद्धता जनाएपछि ‘टर्मिनेट’ (तोड्ने अवस्था) हुन लागेको ठेक्कालाई सरकारले निरन्तरता दिएको हो ।