९ मंसिर २०८१, आईतवार

त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीहरूमाथि प्रहरीको हातपात


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन् ।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन् ।

सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल-फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको स्रोतको भनाइ छ ।

‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन। कहिलेकाहीँ छामछुम गर्छ । प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो? भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले भन्यो ।

प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो। केही बेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि हातपात गरेका थिए ।

अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो। लगत्तै उनी त्यहाँ पुगेका थिए ।

हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएको थियो। उक्त फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो ।

‘अधिकृत मोक्तानमाथि हातपातबारे बुझ्न पुगेका प्रमुख हमाललाई पनि प्रहरीले हातपात गरे,’ स्रोतले भन्यो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले चेकिङ गर्ने क्रममा सामान्य विवाद भएको बताए ।

‘चेकजाँच गर्ने क्रममा सामान्य भनाभन भएको भन्ने कुरा आएको छ, थप अन्य कुरा के-के भएको छ भन्ने बुझ्ने काम भइरहेको छ,’ उनले भने ।