९ मंसिर २०८१, आईतवार

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै


विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो ।

तर, अस्ति शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अङ्क छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्कका साथ लिग–२ को शीर्ष स्थानमा छ ।