९ मंसिर २०८१, आईतवार

नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुन थाल्याे, सूचना पाउनै मुस्किल : अख्तियार प्रमुख राई


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको बताउनुभयो । नेपाल एअरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचना अरू देशका निकायहरूसँग लिनुपर्नेमा सूचना लिन नसकेको उहाँको भनाइ छ ।

नेपालले अरू देशहरूसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले ती देशका निकायहरूले सूचना दिन अस्वीकार गरेका प्रमुख आयुक्त राईले बताउनुभयो । ‘नेपालमा हुने भ्रष्टाचारको डिलिङ बाहिर हुन थाल्यो । त्यसैले सूचना बाहिर बढी छ तर अन्तर्राष्ट्रियस्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको छ’, उहाँले भन्नुभयाे ।