९ मंसिर २०८१, आईतवार

विश्वकप छनोट यात्राको तयारी राम्रो भएको प्रशिक्षक अल्बर्टो एनेसको भनाइ


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको बताएका छन् । छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइनसँग आउँदो चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक एनेसले ६ दिनको छोटो समय प्रशिक्षण गरे पनि तयारी राम्रो भएको बताएका हुन् । धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको प्रशिक्षक एनेसको भनाइ छ । अनुभवी खेलाडी रोहित चन्दसँगै नेपाली टोलीका आयुष घलान, एरिक बिष्ट, सुरज्यु ठकुरी, दीप कार्की र सन्तोष खत्री बहराइन जाने टोलीमा छैनन् । रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन पाएनन् भने बाँकी राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण प्रशिक्षक एनेसले बाहिर राखेको बताइएको छ ।

प्रशिक्षक एनेसले अनुभवी खेलाडीविहीन भएर खेल्न केही चुनौती रहने स्वीकार गरेका छन् । उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी तयारीमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको पनि उल्लेख गरेका छन् ।  छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्दैछ । एक मात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो ।

‘होम म्याच’ खेल्न नपाउनु टोलीको लागि चुनौती हुने उनको भनाइ छ । यद्यपि आफू र आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक एनेस बताउँछन्। यसअघि हिजो नै एन्फाले मलेसियासँगको मैत्रीपूर्ण खेल तालिका सार्वजनिक गरेको थियो ।  एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण खेल शुक्रवार हुनेछ ।

यो खेलपछि नेपाली टोली बहराइन जानेछ । मैत्रीपूर्ण खेल र विश्वकप छनोट यात्राका लागि २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित नेपाली फुटबल टोली घोषणा गरेका हुन् । इटालियन प्रशिक्षक एनेसले रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई र समिर तामाङलाई पहिले पटक राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

अनुभवी खेलाडी भरत खवासले पुनरागमन गरेका छन् । छनोटको समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा युएईसँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । नेपाली टोलीको गोलकिपर किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभाग्य राई छन् ।

त्यस्तै मिडफिल्डरमा भरत, विशाल बस्नेत, लाकेन लिम्बू, मणीकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई र फरवार्डमा अञ्जन बिष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव बिष्ट छन् । हिजो एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बिदाइ गरेका थिए ।