९ मंसिर २०८१, आईतवार

पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन गर्नु भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा हुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाकाबीच ई सेभन भिसामा समेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएको छ । विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषयमा समेत विवाद देखिएको छ ।

यी विषयहरूमा सञ्चारमाध्यम, श्रमिक तथा विभिन्न संघसंस्थाले समेत प्रश्न उठाउँदै आएका छन् । यसअघि निवर्तमान श्रममन्त्री भण्डारीबाट विवादित निर्णय भएकोमा ती निर्णयहरूलाई तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले निर्णय कार्यान्वयन गरेको छैन ।

प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक–कामदार स्वयम्रबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर  गर्दै अध्ययन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिलाई २१ दिनको समय दिइएको छ ।