९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का  अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग हिजो भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख उर्नुभयो ।

उहाँले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो ।

सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आउँदो दिनमा पनि कायम  राख्न प्रयासरत रहेको भन्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने १९ वर्ष मुनिको महिला टी–२० विश्वकपका लागि आइसीसीबाट  सहयोगका लागि आग्रह गर्नुभयो । सदस्य सचिव घिसिङले विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसीसीलाई धन्यवाद दिनुभयो ।

ताजा समाचार