संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो ।
त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको बीबीसीले जनाएको छ । यो कानुनलाई अहिलेसम्म अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ । यस कानुनले टेक्सासका अधिकारीहरूलाई गैरकानुनी रूपमा देशमा प्रवेश गरेका जो कोहीलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिनेछ ।
यसैबीच, टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ । जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्च सङ्ख्याले बढेको खबरमा उल्लेख छ ।
आउँदो नोभेम्बर महिनाको राष्ट्रपतिय चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ । आप्रवासन सम्बन्धी कानुन कहिले र कसरी लागू हुने वा नहुनेबारे कुनै टुङ्गो लागेको छैन ।