पछिल्लो २४ घण्टामा आगलागी र डढेलोमा परी दुई जनाको ज्यान गएको छ । डोल्पामा डढेलो निभाउन गएका एक सैनिक र धनकुटामा आगोमा जलेर एक बालकको ज्यान गएको हो ।
डोल्पाको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका देवीदत्त गुल्म ‘क’ मा कार्यरत सिपाही हेमन्त रावलको उपचारका क्रममा दुनै अस्पतालमा ज्यान गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । डढेलोमा परी गम्भीर घाइते जमदार केशर बहादुर मगरको दुनै जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
त्यस्तै डढेलोमा परी घाइते प्युठ विजय कोइराला र आशीष बुढालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाण्डौ पठाइएको छ । डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेको छ ।
त्यस्तै धनकुटा नगरपालिका–३ कागतेका विनोद श्रेष्ठका तीन वर्षीय छोरा विवेक श्रेष्ठको बारीमा रहेको घुर जलाउनेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको न्युरो अस्पताल विराटनगरमा उपचारपछि काठमाण्डौ रिफर गरिएकोमा बाटोमा नै ज्यान गएको हो ।
आगोमा परी घाइते भएका राजु श्रेष्ठका १० वर्षका छोरा रोशन श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।