रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ । आगलागी हुँदा ६ जना घाइते भएका छन् ।
हिजो दिउँसो रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका हुन् ।
घाइते सबैलाई उद्धार गरेर हिजो बेलुका नै सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको छ । जङ्गलमा लागेको आगो निभाउने प्रयास भैरहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्छ ।