यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै विद्यालयले नियमित पढाइ चाहिँ वैशाख दोस्रो हप्तादेखि शुरु गर्दैछन् ।
शैक्षिक सत्र, भर्ना अभियान र पढाइ शुरु नहुँदै सरकारले सबै जिल्लामा किताब पुर्याएको हो । देशभर रहेका सबै स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । कतिपय विद्यालयले भने किताब लगिसकेका छन् ।
अरु विद्यालयले भने आज, भोलिमै किताब लैजाने भएकाले विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका हुन् । पहिले पढाइ शुरु भएको महिनौँ बित्दासमेत विद्यार्थीले किताब नपाउने समस्या थियो । दुर्गम भेगका कतिपय विद्यार्थी त किताब नै नपढी परीक्षा दिन बाध्य थिए । चालु शैक्षिक सत्रदेखि सरकारले बेलैमा किताब पुर्याउन थालेको हो । पोहोर वैशाखमा सबै ठाउँमा किताब पुगिसकेको थियो भने यसवर्ष चैतमै सबै जिल्लामा किताब पुगिसकेको छ ।
नौ वटा प्रादेशिक कार्लय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।