८ मंसिर २०८१, शनिबार

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घट्यो


सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

फागुनमा यस्तो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा सरकारको सार्वजनिक ऋण दुई अर्ब ४७ करोड २२ लाख रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ आन्तरिक ऋण रहेको र १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बाह्य ऋण रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नाै महिनामा सरकारले दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थप ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ सावाँ भुक्तानी पनि भएको कार्यालयले जनाएको छ ।