१८ मंसिर २०८१, मंगलवार

बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह


गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोको कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जोखिम केही घटेको छ । नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।