६ मंसिर २०८१, बिहीबार

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले छोरालाई सत्ता हस्तान्तरण गर्ने ।


कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ । लामो समयसम्म सत्तामा रहने विश्वका नेतामध्ये एक हुन सेनले राजीनामा दिने र आउँदो अगस्टमा छोरालाई सत्ता सुम्पिने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री सेनको यो घोषणा कम्बोडियामा चुनाव सम्पन्न भएको तीन दिनपछि आएको हो । गएको आइतवार भएको चुनावमा उहाँको दल कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी० ले एक सय २५ मध्ये एक सय २० सिट जितेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्बोडियामा यस पटकको चुनावमा १८ दलले प्रतिस्पर्धा गरेका थिए । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा मत परिणाम घोषणा गरेको छैन । आयोगले आउँदो अगस्ट ९ तारिखमा नतिजा घोषणा गर्नेछ । सेनले सन् १९८५ यता कम्बोडियामा शासन गर्नुभयो । अब कम्बोडियाको प्रधानमन्त्री सेनका जेठा छोरा हुन मानेत बन्नुहुने भएको छ । उहाँ अहिले कम्बोडियन सेनाका कमान्डर हुनुहुन्छ ।

राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेतको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ ।