६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

नेपालका लागि सहायता परियोजनाबारे तिब्बतसँग छलफल


नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउँदो दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।

हिजो सकिएको बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावासले जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाको प्रारूप छनोट, कार्यान्वयन एवम् अनुगमनबारे विचार–विमर्श भएको थियो । दुवै पक्षले यो वर्षको मध्यतिर दुई पटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् ।

बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भू–भागका नागरिकको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका महावाणिज्य दूतावासले जनाएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गर्नुभएको थियो ।

ताजा समाचार