कक्षा १२ को आज देखि सुरु हुने परीक्षामा बाजुराबाट २ हजार बढी.विद्यार्थी सहभागी हुँदैछन । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका अनुसार नियमित र ग्रेडवृद्धि गरी २ हजार २ सय ३० परीक्षार्थी सहभागि हुने भएका हुन । ९ वटा पालिका रहेको बाजुरामा ८ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन हुने निमित्त इकाइ प्रमुख तथा प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार २९ माध्यामिक विद्यालयका विद्यार्थीहरुले ८ वटा परिक्षा केन्द्रबाट परिक्षा दिने भएका हुन ।
कक्षा १२ को परिक्षामा गतवर्ष १ हजार ९ सय ५४ जना परीक्षार्थी रहेको बाजुरामा यस वर्ष २ सय ७६ जना विद्यार्थी थपिएको पाण्डेको भनाइ छ । माध्यामिक विद्यालय सञ्चालित ९ वटै पालिकामा हिमाली गाउँपालिकामा परिक्षा केन्द्र नतोकीएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको हो ।
एउटा परिक्षा केन्द्रमा न्युनतम परिक्षार्थी संख्या हिमाली क्षेत्रमा १ सय, पहाडी क्षेत्रमा १ सय ५० र तराई तथा सहरी क्षेत्रमा ३ सय र अधिकतम ५ सय जनासम्म हुनु पर्ने भए पनि हिमाली गाउँपालिकामा ९५ जना मात्र विद्यार्थी संख्या हुँदा केन्द्र तोक्न नसकिएको निमित्त इकाइ प्रमुख तथा प्राविधिक सहायक पाण्डेले बताउनुभएको छ । हिमाली गाउँपालिकामा रहेका बडीमालिका र शैलेश्वरी मा.वि का लागि छिमेकी पालिका स्वामीकार्तिक खापर गाउँपालिकाको परिक्षा केन्द्र स्वामीकार्तिक माविमा निर्धारण गरीएको पाण्डेले बताउनुभयो ।
यो सँगै देशभरीबाट ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी छन । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन ।
२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पठाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । उत्तरपुस्तिकासहित परीक्षा सामग्री केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ । केन्द्राध्यक्षको अभिमुखीकरण पनि सकिएको छ ।