८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा टिपर पुगे


राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक हप्ता लगाएर ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालकलाई हिजो स्थानीयबासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर सिमकोट पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुग्न सफल भएका हुन् ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रेम कार्कीका अनुसार कामका लागि डिजेल आवश्यक परेपछि टिपरमा पुर्‍याइएको हो । च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले टिपर गुड्नका लागि अनुमति दिएको थियो ।

छारे भिरबाट ती गाडी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र अनुमति प्राप्त भएको थियो । टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर पुगेका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि गाडी र मानिसलाई आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार डिजेल आवश्यक पर्नेछ । च्याछरा सडकखण्ड आउँदो असार १० गतेसम्म ठूला गाडी गुड्नसक्ने बनाउने लक्ष्य भए पनि आवश्यक सामग्रीको अभाव छ ।

ताजा समाचार